पाँच वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार गरेको कसुरमा अर्घाखाँची जिल्ला अदालतले प्युठान जिल्लाको नौबहिनी गाउँपालिका-७ बस्ने ४० वर्षीय प्रेमबहादुर विष्टलाई २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २२ गतेको इजलासले कसुर ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय, १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने, २५ हजार रुपियाँ जरिबाना र १ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले जानकारी दिनुभयो ।
पीडित बालिकालाई विष्टले ०८० पुस २ गते अपहरण तथा शरीर बन्धक र बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले विष्टलाई पुस ३ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण पुस ३ गते अर्घाखाँची जिल्ला अस्पताल, सन्धिखर्कमा भएको थियो ।