२७ वर्षीया पत्नी धर्मा साउदलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का २८ वर्षीय पति राजेश साउदलाई ०८१ माघ १८ गते गिरफ्तार गरेको छ ।
मृतकका माइती पक्षले माघ १८ गते दिएको उजुरीका आधारमा आरोपित पतिलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले बताउनु भयो ।
यसअधि पनि आरोपितले पत्नीलाई पटकपटक कुटपिट गर्ने गरेको पाइएकोले हाललाई आत्महत्या दुरुत्साहत अन्तर्गत मुद्दा गर्दा गरी अनुसन्धान भइरहको र रातिको समयमा पत्नीले सेती नदीमा हामफालेर आत्महत्या गरेको आरोपितले बयानका क्रममा बताउनु भएको भए पनि पोष्टमार्टम रिपोर्टबाट मात्रै हत्या हो वा आत्महत्या हो भनेर भन्न सकिने इन्स्पेक्टर ठगुन्नाको भनाइ छ ।
सेती नदीमा हाम फालेको भनिए पनि मृतकको पेट नफुलेको, टाउँकोलगायत बिभिन्न ठाउँमा चोट लागेको कारण आत्महत्या नभएर हत्या भएको हुन सक्ने माइती पक्षको आशंका छ । माघ १६ गते साँझ आफूले छोरीलाई फोन गर्दा ज्वाइँले उठाएको र छोरीलाई कुरा गर्न नदिएकोले साँझ नै हत्या भएको हुन सक्ने मृतककी आमा देवगिरीदेवी धामीको आरोप छ ।
‘साँझ सात बजेतिर छोरीलाई फोन गर्दा ज्वाइँले उठाए । छोरीलाई दिनुस् भन्दा बोल्दिन भन्दैछन् भनेर काटे,’ उहाँले भन्नुभयो, ‘भोलीपल्ट बिहान त मरिसकी भनेर खबर आउँछ । हाम फालेको भए त पेट सुन्निएको हुनु पर्ने त्यसो पनि छैन् । राति नै मारेर फालेका हुन् की भन्ने आशंका छ ।’मृतकका नौ र पाँच वर्षका दुई छोरा भारतमा बाजेबज्यैसँगै बस्दैआएका र एक तीन वर्षकी छोरी साथमा रहेकी छिन् ।
आरोपितकी पत्नी साउदको शव माघ १७ गते सेती नदीमा फेला परेको थियो । शवको पोष्टमार्टम माघ १८ गते जिल्ला अस्पताल, बझाङमा गरी आफन्तको जिम्मा लगाइएको थियो ।