INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्साहन घटनाका आरोपित पति गिरफ्तार

२७ वर्षीया पत्नी धर्मा साउदलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का २८ वर्षीय पति राजेश साउदलाई ०८१ माघ १८ गते गिरफ्तार गरेको छ ।

मृतकका माइती पक्षले माघ १८ गते दिएको उजुरीका आधारमा आरोपित पतिलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले बताउनु भयो ।

यसअधि पनि आरोपितले पत्नीलाई पटकपटक कुटपिट गर्ने गरेको पाइएकोले हाललाई आत्महत्या दुरुत्साहत अन्तर्गत मुद्दा गर्दा गरी अनुसन्धान भइरहको र रातिको समयमा पत्नीले सेती नदीमा हामफालेर आत्महत्या गरेको आरोपितले बयानका क्रममा बताउनु भएको भए पनि पोष्टमार्टम रिपोर्टबाट मात्रै हत्या हो वा आत्महत्या हो भनेर भन्न सकिने इन्स्पेक्टर ठगुन्नाको भनाइ छ ।

सेती नदीमा हाम फालेको भनिए पनि मृतकको पेट नफुलेको, टाउँकोलगायत बिभिन्न ठाउँमा चोट लागेको कारण आत्महत्या नभएर हत्या भएको हुन सक्ने माइती पक्षको आशंका छ  । माघ १६  गते साँझ आफूले छोरीलाई फोन गर्दा ज्वाइँले उठाएको र छोरीलाई कुरा गर्न नदिएकोले साँझ नै हत्या भएको हुन सक्ने मृतककी आमा देवगिरीदेवी धामीको आरोप छ ।

‘साँझ सात बजेतिर छोरीलाई फोन गर्दा ज्वाइँले उठाए । छोरीलाई दिनुस् भन्दा बोल्दिन भन्दैछन् भनेर काटे,’ उहाँले भन्नुभयो, ‘भोलीपल्ट बिहान त मरिसकी भनेर खबर आउँछ । हाम फालेको भए त पेट सुन्निएको हुनु पर्ने त्यसो पनि छैन् । राति नै मारेर फालेका हुन् की भन्ने आशंका छ ।’मृतकका नौ र पाँच वर्षका दुई छोरा भारतमा बाजेबज्यैसँगै बस्दैआएका र एक तीन वर्षकी छोरी साथमा रहेकी छिन् ।

आरोपितकी पत्नी साउदको शव माघ १७  गते सेती नदीमा फेला परेको थियो । शवको पोष्टमार्टम माघ १८ गते जिल्ला अस्पताल, बझाङमा गरी आफन्तको जिम्मा लगाइएको थियो ।

अन्य

भिडियो