महोत्तरीस्थित कारागारमा एक जना कैदीको ०८१ माघ १९ गते मृत्यु भएको छ ।
आगजनी घटनाको अभियोगमा कारागारमा सजाय भुक्तान गरिरहेका धनुषाको बटेश्वर गाउँपालिका-१, कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो ।
कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार अचानक पेट दुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो ।
‘उनले ग्यासको ट्याब्लेट खाँदै आएका थिए । राति अचानक उनको पेट दुखेपछि हामीले उनलाई प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरायौँ । उपचारको क्रममा राति २ः३० बजे तिर डाक्टरले मृत घोषणा गरे,’ कारागार प्रशासन प्रमुख क्षेत्रीले बताउनु भयो ।
२०३८ सालमा गाउँकै एक जनाको खेतमा भएको आगजनी घटना अभियोगमा धनुषा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो ।