INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती

मालिकार्जुन गाउँपालिका–७ का ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती खेप्नुपरेको छ । सामाजिक सुरक्षा भत्ता लिनका लागि सदरमुकाम खलंगा आउनु पर्ने भएपछि सास्ती भएको हो ।

गाउँपालिकाका अन्य वडामा माछापुच्छ्रे बैंकमार्फत वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ । तर, वडा नम्बर ७ मा भने यसअघि ग्लोबल बैंकमा खाता सञ्चालन गरिएको हुँदा सदरमुकाम खलंगामा आएर सामाजिक सुरक्षा भत्ता लिनु पर्ने बाध्यता रहेको मालिकार्जुन गाउँपालिका–७ का ७२ वर्षीया धनीराम पार्कीले दुखेसो पोख्नु भयो ।

सुरुमा बैंकको शाखारहित काउन्टर खोलिएको थियो । शाखा बन्द गरिएपछि अहिले पूरै वडाका नागरिकले सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम खलंगा आउनुपरेको उहाँले गुनासो गर्नु भयो ।

जोलजीविबाट खलंगासम्म पुग्न गाडी भाडामा मात्रै ओहोरदोहोर गर्दा ६ सय रुपियाँ खर्च हुन्छ । खाना खानु परिहाल्यो । वडामै भत्ता वितरण नहुँदा आफूहरुलाई समस्या हुने गरेको ६२ वर्षीया गमानी पार्कीले दुखेसो गर्नु भयो ।

कहिलेकाही समयमै गाडी नपाउँदा झन हिड्न समस्या हुने गरेको उहाँको गुनासो छ । हामीलाई गाडीमा छुट पनि पाइदैन् । बस्नलाई राम्रो सीट नपाइने अवस्थामा जीपहरुले कहाँबाट भाडामा छुट दिउन् । बुढाबुढी मात्रै आएर पनि नहुने । घरको एक जना अभिभावक लिएर आउँदा थप खर्च हुने गरेको उहाँको गुनासो छ ।

photo20250131darchula (1)

ग्लोबल बैंकले शाखा हटाउँदा आफ्ना वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले समस्या भोग्दै आएको वडाध्यक्ष बहादुर चन्दले बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘ग्लोबल बैंकको शाखा वडामा छैन् । हाम्रो वडाका नागरिकले मात्रै सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको छ । वडाको समस्या बारे पटकपटक अवगत गराएकै छौँ तर अहिलेसम्म समस्या समाधान भएको छैन् ।’

मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ मा ज्येष्ठ नागरिक १ सय ५६ जना, ज्येष्ठ नागरिक दलित १७ जना, ज्येष्ठ नागरिक एकल महिला १५ जना, विधवा महिला ३४ जना, ‘क’ बर्गका अपाङ्गता भएका पाँच जना, ‘ख’ बर्गका सात जना र दलित बालबालिका २९ जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।

वडाको समस्या समाधानको लागि गाउँपालिकाले बैंकलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्थापन मिलाउन पत्रचार गरेको भए पनि अहिलेसम्म जवाफ नआएको गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताउनु भयो । सुरुमा खाता ग्लोबलमा खोलिएको रहेछ । अहिले हामीले अन्य वडामा पुगेरै सामाजिक सुरक्षा वितरण गर्दै आएका छौं, उहाँले भन्नुभयो, वडा नम्बर ७ को समस्या पनि समाधान गर्नतर्फ पालिकाको ध्यान गएको छ ।

अन्य

भिडियो