INSEC Online

📅 २०८३ जेष्ठ २१

धामीझाँक्रीको भर पर्दा शिशुसहित सुत्केरी महिलाको मृत्यु

धामीझाक्रीको भरमा परेर तातोपानी गाउँपालिका–१ बाँइराकाकी ३० वर्षीया सुत्केरी मुगा शाहीको मृत्यु भएको छ । उहाँबाट जन्मेको नवजात शिशुको पनि मृत्यु भएको हो । पहिला धामीझाक्रीको झारफुक तिर लागेर समयमा अस्पताल नलिएका कारण सुत्केरी आमा र नवजात शिशुको मृत्यु भएको भन्ने बुझिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा नवजात शिशु र सुत्केरी महिला शाहीको मृत्यु भएको हो । प्रतिष्ठानको आइसियूमा राखिएकी सुत्केरी महिला शाहीको माघ १० गते मृत्यु भएको हो । उहाँको बच्चाको भने माघ ३ गते अस्पताल पुर्‍याउँदा नै मृत्यु भएको थियो । सुत्केरी आमाको अवस्थाको विषयमा सोही गाउँकी महिला स्वास्थ्य स्वयम्सेविका छुमकली सार्कीले आफूले थाहा पाएपछि सुत्केरीको अवस्था गम्भीर भएपछि आफूसहितले अटोमा अस्पताल पुर्‍याएको जानकारी दिनुभयो ।

परिवारका अनुसार मृतक सुत्केरी मुगा शाहीलाई माघ २ गते राति नै सुत्केरी व्यथा लागेको थियो । समयमा अस्पतालमा नल्याई धामी झाक्रीको भर परेपछि अस्पताल ढिला पुर्‍याइएको हो । मृतक शाहीका भाई तातोपानी गाउँपालिका–२ डाँगीवाडाका धिरेन्द्र डाँगीका अनुसार अस्पताल पुर्‍याउन ढिला भएका कारण दिदीले ज्यान गुमाउनु परेको बताउनु भयो । प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. कविता शाहका अनुसार माघ ३ गते बेहोस् अवस्थामा पुग्नुभएकी सुत्केरी महिला शाहीलाई भेन्टिलेरमा राखिएको थियो ।

उहाँले भन्नुभयो – ‘सुत्केरी आमाको स्वास्थ्य गम्भीर अवस्थामा देखेपछि दुई, तीन मिनेटमै आइसियूबाट भेन्टिलेटरमा उपचार सुरु गरेका थियौँ । परिवारले अस्पताल ढिला पुर्‍याउँदा दुःखद् घटना भयो ।’ उहाँले सुत्केरी व्यथा लाग्ने बित्तिकै स्वास्थ्यकर्मीलाई खबर गरेर अस्पताल ल्याउनु पर्ने हो । तर निकै ढिला अस्पताल ल्याउने काम भयो । यस्तो गर्नु हुदैन थियो । आइसियूमा होस नखुलेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माघ ४ गते नै रिफर समेत गरेको थियो । परिवारले काठमाडौँ लान पहल गरेको थियो । तर जिल्ला बाहिर पनि लान सकिने अवस्था बनेन ।

अन्य

भिडियो