बाढीले क्षतिग्रस्त लामाबगर स्वास्थ्य चौकी पुर्ननिर्माण नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । गएका वर्ष ०७८–७९ साल लगातार दुई वर्ष अविरल वर्षाका कारण ठूलो बाढीपहिरो आएपछि तातोपानी गाउँपालिका–७ र ८ वडामा पर्ने भेरीखोलाको लामाबगर स्वास्थ्य चौकीमा क्षति भएको हो । अहिले त्यो स्वास्थ्य चौकीको भवन निकै जोखिम अवस्थामा रहेको छ ।
स्वास्थ्य चौकी मापदण्डअनुसारको भौतिक संरचना नहुँदा एउटै कोठाबाट धेरै सेवा प्रवाह गर्नु परेको स्वास्थ्यकर्मीको गुनासो छ । ‘खोलाको किनारमा रहेको स्वास्थ्य चौकी गत दुई वर्ष आएको बाढीले कटान गरेको छ । बाढी, पहिरोको जोखिममा यो स्वास्थ्य चौकी रहेको छ’ – उहाँले भन्नुभयो । अघिल्लो वर्षहरूमा आएको भूकम्पले आवास गृह चर्किएको छ । त्रासैत्रासमा चर्किएको घरभित्रै स्वास्थ्यकर्मीहरू बस्दै आएका छन् । ‘यो क्षेत्रमा घर पनि अरु छैन । तलमाथि खोलाको किनारमा स्वास्थ्य चौकी र आवास गृह रहेको छ । बाढी, पहिरोको जोखिम पनि उत्तिकै रहेको छ । स्वास्थ्य चौकीमा प्रसुति गृह पनि भएकोले २४ सै घण्टा ड्युटी गर्नुपर्ने हुन्छ । तर, अवस्था यस्तो हुँदा निकै चिन्तित छौँ’ – स्वास्थ्य चौकी इन्चार्ज मल्लले भन्नुभयो ।
तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईका अनुसार त्यही निकै जीर्ण भवनबाट स्वास्थ्य चौकीबाट जेनतेन सेवा प्रवाह गर्दै आएका छन् । यही समस्यालाई मध्येनजर गर्दै लामाबगरमा सङ्घीय सरकारको ७० लाख बजेटमा चालु आर्थिक वर्ष ०८१/८२ मा नयाँ भौतिक संरचना निर्माण हुन थालेको छ । दुई वर्षको बाढीपहिरोको कारण लामाबगर स्वास्थ्य चौकीमा क्षति भएर सेवा प्रवाहमा असहज भईरहेको छ । उहाँले भन्नुभयो – ‘अब नयाँ भौतिक संरचना निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ ।’
स्वास्थ्य चौकी भवन निर्माणका लागि मापदण्ड अनुसार ६ सय ४० वर्गमिटर जग्गा आवश्कता पर्ने व्यवस्था रहेको छ । तातोपानी गाउँपालिका–७ का वडाध्यक्ष तिलक रावतका अनुसार हामीसँग सरकार सार्वजनिक जग्गा ४ सय वर्गमिटर रहेको छ । मापदण्ड अनुसार जग्गा नपुग्ने भएकोले स्थानीय कालि रावतबाट ४०५ वर्गमिटर जग्गा निशुल्क प्राप्त गर्ने प्रक्रिया थालेका छौँ । उहाँले भन्नुभयो, अब छिट्टै निशुल्क जग्गा प्राप्त गरेपछि हामीसँग स्वास्थ्य चौकी भवन निर्माण गर्न ८ सय ५ वर्गमिटर प्राप्त जग्गा प्राप्त हुन्छ । त्यसपछि छिट्टै भवन निर्माणको प्रक्रिया थालनी गर्ने छौँ ।
