INSEC Online

📅 २०८३ जेष्ठ २१

एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा

तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन भेडाबाख्रा नै हो । पशुचौपायामा सेवा प्रवाह गर्नका लागि स्थानीय स्तरमा स्थापना गरिएको पशुसेवा केन्द्र लामो समयदेखि कर्मचारीविहीन भएर बन्द भएपछि किसान मर्कामा परेका छन् । तिला गाउँपालिका–८ जुम्लाकोट गाउँस्थित पशुसेवा केन्द्र एक वर्षदेखि वन्द रहेको छ । स्थानीय स्तरमै पशुपन्छीलाई सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको पशुसेवा केन्द्र एक वर्षदेखि बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

स्थानीय कृषक नौसेर रावतका अनुसार गतवर्ष उपचार नपाएर १५ ओटा भेडा, एक हल गोरु, गाई मरेका थिए । अन्य स्थानीय कृषकका लागि यसरी नै उपचार नपाएर पशुचौपायमा क्षति पुगेको थियो । उहाँले भन्नुभयो – ‘स्थानीय स्तरमै पशुसेवा केन्द्रले भएपछि सहज हुने अपेक्षा गरेका थियौँ । तर लामो समयदेखि पशुसेवा केन्द्र वन्द भएपछि हामी स्थानीय कृषक निकै समस्यामा परेका छौँ । छिटो कार्यालय सञ्चालनमा ल्याएर सेवा प्रवाह गर्न माग गर्दछौँ ।’

मालिकाठाटा र घोडेमहादेव क्षेत्र स्थानीय तहको मुकामदेखि निकै टाढा भएको क्षेत्र हो । पालिकाको मुकाममा रहेको पशुसेवा शाखाबाट प्रवाह गर्न पहुँच नपुग्ने भएपछि स्थानीय स्तर तीन वडाको कार्यक्षेत्र रहेको जुम्लाकोटमा स्थापना भएको पशुसेवा केन्द्र लामो समयदेखि वन्द भएपछि सेवा प्रवाह समस्या भएको स्थानीयसमेत रहेका अनेरास्ववियू जिल्ला सहसचिव बीनबहादुर रावतले बताउनु भयो ।

तिला गाउँपालिका पशुसेवा शाखाकी प्रमुख सुपारीदेवि भट्टराईका अनुसार ०७६ सालमा प्राविधिक सहायक लक्ष्मण बुढ्थापा कर्मचारी समायोजन भएर सरुवा भई गएका र सो पदमा अन्य कुनै पनि कर्मचारी नआई रिक्त भएकोले समस्या भएको हो । उहाँले भन्नुभयो ०७६ पछि ०८० सालसम्म कार्यालय सहयोगी देविलाल बुढाले सेवा केन्द्र खोल्ने गरेका थिए । तर ०८० सालमा कार्यालय सहयोगी बुढाको पनि सेवानिवृत्त भएपछि कर्मचारी विहीन भयो । सेवा केन्द्र एक वर्षदेखि वन्द रहेको हो । उहाँका अनुसार उक्त सेवा केन्द्रका लागि प्राविधिक सहायक लोकसेवा मार्फत माग गरेका छौँ । तर अहिलेसम्म पनि पदपुर्ति भएको छैन ।

करारमा कार्यालय सहयोगका लागि ०८० असोज ३० गते विज्ञापन गरी माग गरे पनि अहिलेसम्म गाउँपालिकाले अहिलेसम्म पदपूर्ति गर्न सकेको छैन । गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार प्रक्रिया पुरा गरी फागुन महिनादेखि कार्यालय सहयोग भर्ना गरी सेवा केन्द्र खुलाउने वातावरण मिलाउने तयारी भएको छ ।

Photo20012024Jumla

जुम्लाको तिला गाउँपालिका–८ मा रहेको जुम्लाकोट गाउँ ।  तस्बिर ः विजय रावत /रासस

अन्य

भिडियो