INSEC Online

📅 २०८३ जेष्ठ २१

हिमाली जिल्लामा शैक्षिक सत्र फागुनदेखि गर्न माग

हिमाली जिल्लामा शैक्षिक सत्र फागुनदेखि हुनुपर्ने माग गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा ०८१ वैशाख १९ गते आयोजित बैठक र मङ्सिर २० गते माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरूको बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो ।

हिमाली जिल्ला जुम्लामा शैक्षिक सत्रका कारण पठनपाठनमा समस्या उत्पन्न भएको भन्दै साविकको फागुन १ गतेबाट शैक्षिक सत्र सुरु गर्न माग गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमेश मल्लले बताउनु भयो । शिक्षा विकास तथा समन्वय समिति जुम्लाका प्रमुख मल्लका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरलाई पठाइएको पत्रमार्फत शैक्षिकसत्र संशोधनको माग गरिएको हो ।

‘०८१ वैशाख १९ गते जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा आयोजित बैठक र मङ्सिर २० गते माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरूको बैठकले यस्तो माग गर्ने निर्णय गरेको थियो । बैठकमा आठवटा स्थानीय तहका प्रमुख, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख लगायत अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो’ – प्रमुख मल्लले भन्नुभयो ।

बैठकका सहभागीहरूले वैशाख १ गतेबाट सुरु हुने शैक्षिक सत्रले जुम्ला लगायत हिमाली क्षेत्रमा पठनपाठन तथा शैक्षिक गतिविधिमा कठिनाइ ल्याउने राय राखेका थिए । यस कारण, जाडो महिनामा सहज रूपमा पठनपाठन सुनिश्चित गर्न साविककै फागुन १ गतेबाट शैक्षिक सत्र सुरु गर्नुपर्ने सुझाव राखिएको हो ।

पत्रमा शैक्षिक सत्र संशोधनका लागि बैठकको निर्णयसमेत संलग्न गरी आवश्यक कार्यान्वयनका लागि केन्द्रमा अनुरोध गरिएको उहाँले बताउनु भयो । पहिले शैक्षिक सत्र फागुनदेखि भएपनि अहिले बैशाखदेखि सुरु गर्ने गरिएको छ ।

इकाइ प्रमुख मल्लका अनुसार जुम्लाको भौगोलिक र मौसमी परिस्थितिका कारण वर्तमान शैक्षिक सत्रले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा अवरोध पुर्‍याइरहेको छ । यसलाई ध्यानमा राख्दै केन्द्रलाई निर्णय कार्यान्वयनका लागि अनुरोध गरिएको हो । अब शिक्षा मन्त्रालय र मानव स्रोत विकास केन्द्रले यस विषयमा के निर्णय लिन्छ, त्यसपछि शैक्षिकसत्र के गर्ने भन्ने टुङ्गो लाग्ने उहाँको भनाइ छ ।

अन्य

भिडियो