INSEC Online

📅 २०८३ जेष्ठ २१

चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द

अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो ।

विद्यार्थीहरु कठ्याङ्ग्रिने र रुघाखोकीको समस्या देखिन थालेपछि ढोरपाटन नगरपालिका–९ को पाखाथर स्थित ज्योति विकास माध्यमिक विद्यालय, छेन्तुङको सिद्धबराह प्राथमिक विद्यालय, सहलथान स्थित सहलथान प्राथमिक विद्यालय, दिजाको बाल ज्योति प्राथमिक विद्यालय, मस स्थित ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र स्यालपाखे स्थित ढोरबहारा प्राथमिक विद्यालय बिहीबारदेखि बन्द गरि एको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेले जानकारी दिनु भयो ।

बन्द भएका विद्यालयहरु माघ २० गतेदेखि सञ्चालनमा आउने पनि उहाँले बताउनु भयो । जनवादी आधारभूत विद्यालय भने घुम्ती पढाइका लागि ढोरपाटन नगरपालिका–९ बोबाङमा झरेको उहाँको भनाइ छ । घुम्ती पढाइका लागि जनवादी आधारभूत विद्यालयका विद्यार्थी बेसी झरेको घिमिरेले जानकारी दिनु भयो । चिसोले विद्यार्थी कठ्याङग्रिएर पढ्न नसक्ने हुँदा बिदा गरिएको उहाँले बताउनु भयो ।

ढोरपाटनका विद्यालयहरुमा ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ । ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको बताउनु भयो ।

यहाँका विद्यालयमा अधिकांश सानो उमेरका बालबालिका अध्ययन गर्ने हुँदा उनीहरुलाई चिसोबाट बचाउनका लागि विद्यालय बन्द गर्नुको विकल्प नभएको अदैको भनाइ छ ।

अन्य

भिडियो