INSEC Online

📅 २०८३ जेष्ठ २१

खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या

खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । गाउँपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधिको अभाव भएको स्थानीय सेवाग्राहीले गुनासो गरेका छन् । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका हुन् ।

गाउँपालिकामा स्थित एक सामुदायिक अस्पताल, चारवटा स्वास्थ्यचौकी, एक आधारभूत स्वास्थ्य केन्द्र, ६ ओटा आधारभूत स्वास्थ्य इकाईमा यतिबेला औषधि अभाव भएको छ । गाउँपालिका भित्र रहेका यि स्वास्थ्य संस्थामा उपचारका लागि सेवाग्राही आए पनि सामान्य सिटामोल समेत नहुँदा रित्तो हातमा फिर्ता हुनु परेको स्थानीय दलसुर परियारले गुनासो गर्नुभयो । गाउँपालिकाभरीका स्वास्थ्य संस्थामा एक महिनादेखि सामान्य सिटामोल, ग्याष्ट्रिक, रुघाखोकी, दम लगायतका विरामीका लागि अति आवश्यक पर्ने औषधि नभएको परियारको भनाइ छ ।

यतिबेला गाउँपालिकामा रहेका चार ओटा स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा उपचारका लागि विरामी गाउँमै रहेका स्वास्थ्य संस्थामा नपुगेर जिल्ला अस्पताल सिमकोटमा पुग्ने गरेका छन् । गाउँमा रहेका स्वास्थ्य चौकीमा औषधि नपाइने भएपनि जिल्ला वा जिल्ला बाहिर उपचारका लागि जाने गरेको पाइएको छ । स्वास्थ्य संस्थाहरुमा अभाव हुँदा बिरामीले औषधि पाएका छैनन् । स्वास्थ्य चौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयका अनुसार केही दिनअघि विरामीको चाप हुने रायाँ, छिप्रा, लाली, खर्पेगाउँमा रहेका स्वास्थ्य चौकीमा यतिबेला विरामी नै आउन छोडेका छन् ।

दशैँ अघि पनि औषधि अभाव हुँदा ५ लाख रुपियाँको औषधि गाउँपालिकाले खरिद गरेको थियो । तर दशैँमा खरिद गरेको पनि सकिएर पुनः औषधि खरिदका लागि टेण्डर आहान भएको गाउँपालिका स्वास्थ्य संयोजक हरिभक्त शाहीले बताउनु भयो । गाउँपालिकामा सबै औषधिको अभाव नभएपनि केही औषधिको अभाव भएको स्वास्थ्य संयोजक शाहीले बताउनु भयो । खार्पुनाथ गाउँपालिका–१ को पिउस आधारभूत स्वास्थ्य इकाई, ३ को कारङगा आधारभूत स्वास्थ्य इकाई, ४ को लेख आधारभूत स्वास्थ्य इकाई र छिप्रा आधारभूत स्वास्थ्य इकाई, वडा नम्बर ५ को दुर्पा र ताक्ला आधारभूत स्वास्थ्य इकाइमा औषधिको अभाव भएको स्वास्थ्य संयोजक शाहीले उल्लेख गर्नुभयो ।

यस्तै गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीले औषधि अभाव भएको जानकारी नभएको बताउनुभयो । तर गाउँपालिकाले यहाँका स्वास्थ्य संस्थामा चाहिँने औषधि र उपकरण खरिदका लागि टेण्डर आहान भएर स्वीकृत भइ सकेको बताउनु भयो । गाउँपालिकामा माघ महिनाको पहिलो सातामा आइपुग्ने र चाडो पुर्‍याउन ताकेता लगाउने अधिकृत शाहीले बताउनु भयो । गाउँपालिकाले अहिले १४ लाख रुपियाँको टेण्डर आह्वान गरेर खरिदका लागि पक्रिया अगाडि बढी सकेको शाहीको भनाइ छ ।

Photo11012025Humla

अन्य

भिडियो