सल्यानका स्थानीय तहले बालविवाह रोकथामको लागि रणनीतिक योजना बनाएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये चार ओटा पालिकाले रणनीतिक योजना बनाइसकेका छन् । शारदा नगरपालिका, कपुरकोट गाउँपालिका, त्रिबेणी गाउँपालिका र दार्मा गाउँपालिकाले रणनीतिक योजना तय गरेका हुन् । शारदा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले विवाह गर्ने उमेरमा सम्बन्ध बिच्छेदका लागि अदालतसम्म आउने परिपाटीको अन्त्य गर्नका लागि रणनीतिक योजना बनाउन लागिएको बताउनु भयो ।
‘तीनै तहका सरकारले काम गरिरहेको भएपनि बालविवाहमा कमी आउन सकेको छैन्, प्रहरीसम्म होस् या अदालत सम्म आएका घटनालाई हेर्दा होस्, कुनै न कुनै हिसावले समुदायमा बालविवाह भैरहेको छ भन्ने पाइन्छ । हामीले बालविवाह हुनुको कारण पत्ता लगाएर निति तथा योजना निर्माण गर्नका लागि रणनीति बनाएका छौँ’ – उहाँले भन्नुभयो ।
कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले गाउँ, समुदायसम्मै पुगेर तथ्यांक संकलन गरिएको बताउनु भयो । ‘पुस १६ गते रणनीति बनाइसक्यौँ । समुदायबाट पछिल्लो पाँच वर्षयताको तथ्याङ्क सङ्कल गरेका छौँ । बालविवाहले शिक्षा, स्वास्थ्य देखि सबै क्षेत्रमा असर परेकाले न्यूनीकरण गर्नुपर्छ भनेर रणनीति बनाएका हौँ’ – उहाँले भन्नुभयो ।
त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले समुदायबाट सङ्कलन गरिएको तथ्याङ्कलाई विश्लेषण गरेर रणनीति बनाइएको बताउनु भयो । ‘पहिले जस्तो सिधै बालविवाह नभए पनि अहिले यसका स्वरुप फेरिएका छन् । बालविवाह समुदायको विकास, उन्नती र प्रगतिमा बाधक बनिरहेको छ । बालविवाह रोक्नु चुनौतीको विषय भएकाले रणनीति बनाएर अघि बढेका छौँ’ – उहाँले भन्नुभयो । बालविवाह विरुद्धको साझा अभियान सञ्जालका जिल्ला संयोजक निम बहादुर नेपालीले पछिल्लो समय अभिभावकको मञ्जुरी नलिइ किशोरकिशोरी आफै भागेर विवाह गर्ने क्रम बढेकाले उनीहरूलाई सचेत गराउनमा रणनीतिक योजनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
समुदाय र अभिभावक सचेत हुँदै गएको भए पनि लुकिछिपि हुने बालविवाहलाई सधैँको लागि अन्त्य गर्न सबैको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । नेपाल पत्रकार महासङ्घ सल्यानका अध्यक्ष डिल्लीराज रावतले सबैक्षेत्रको सक्रियताले मात्रै बालविवाह न्यूनीकरण सम्भव हुने बताउनु भयो ।
बालविवाहले व्यक्ति र परिवारलाई मात्रै नभएर सिँगो समुदाय र राष्ट्रलाई नै असर गरिरहेकाले विकास र समृद्धि हाँसिल गर्नका लागि बालविवाह अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।