पर्वत जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश सरुवा हुँदा पर्वत जिल्ला अदालतमा चालु अवस्थामा रहेका मुद्दा १५ दिनदेखि सुनुवाइ हुन सकिरहेको छैन । पर्वत जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेलको यही पुस १२ गते सरुवा भएको निर्णय भएपछि पर्वत जिल्ला अदालतमा रहेका मुद्दा सुनुवाइ नभएका हुन् ।
न्यायाधीश पौडेलको मुस्ताङ जिल्लाको जिल्ला न्यायाधीशका रुपमा सरुवा भएको हो । त्यस्तै न्यायाधीश पौडेलको स्थानमा पर्वत जिल्ला अदालतमा अछामबाट प्रकाश ढुङ्गानाको सरुवा भएको छ । अछाम जिल्लाबाट सरुवा हुनुभएका जिल्ला न्यायाधीश कार्यक्षेत्रमा उपस्थित नहुँदा दैनिक मुद्दा सुनुवाइ कार्य रोकिएको पर्वत जिल्ला अदालतका श्रेष्तेदार विरेन्द्रप्रकाश खड्काले बताउनु भयो ।
यौन दुर्व्यवहार घटनाकी पीडित २७ वर्षीया महिलाले पटकपटक मुद्दा सुनुवाइ कार्य स्थगित हुँदा समयमा न्याय पाउन नसकेको गुनासो गर्नु भयो । ०८१ वैशाख २ गतेको यौन दुर्व्यवहार घटनाबाट पीडित भएकी महिलाको मुद्दा अदालतमा चालु प्रक्रियामा छ । आरोपित पुर्पक्षका लागि थुनामा भएपनि एउटै मुद्दा नौ पटकसम्म इजलासमा पेशी चढेको अदालतको तथ्याङ्कमा उल्लेख छ । न्यायका लागि अदालतमा आएका सर्वसाधरणहरुले पटकपटक मुद्दा सुनुवाई प्रक्रिया स्थगित हुँदा र समयमा मुद्दाहरु फछ्र्यौट हुन नसक्दा समस्यामा परेका छन् ।
एक मात्रै न्यायाधीशको दरबन्दी रहेको पर्वत जिल्ला अदालतमा न्यायाधीश नहुँदा अहिले दैनिक चार देखि आठ थान मुद्दा इजलासबाट सुनुवाइ कार्य स्थगित हुने गरेको छ । सामान्य थुनछेक आदेश कार्य भने नरोकिएको श्रेष्तेदार खड्काले बताउनु भयो ।