गौरीशङ्कर बालगृह दोलखाका बालकहरु नौ वर्षदेखि जोखिमयुक्त घरमा बस्न बाध्य छन् । सदरमुकाम चरिकोट नजिकै रहेको गौरीशङ्कर बालगृहमा १७ जना बालकहरु भुकम्पले चर्किएका जोखिमयुक्त घरमा बस्न बाध्य बनेका हुन् । भुकम्पले चिराचिरा परेका भवनका छतबाट शीत चुहिएर रातभरी अनिदो बस्नुपरेको उनीहरुको गुनासो छ ।
गैरीशङ्कर बाल गृहमा हाल रोल्पा, जाजरकोट, हुम्ला र दोलखाका ६ वर्षदेखि १७ वर्षसम्मका बालकहरु बस्दै आएका छन् । बालगृहमा वरिपरी कम्पाउण्ड त छैन नै उनीहरु बस्ने घर समेत असुरक्षित छ । भुकम्पले चिरा परेका प्वालहरुबाट सर्प समेत आउने गरेको बालकहरु बताउँछन् ।

२०५३ सालमा नेदरल्याण्डस सरकारले जोखिममा परेका बालबालिकाको पालनपोषण र शिक्षाको लागि सो बालगृह निर्माण गरिदिएको थियो । बालगृहको जग्गा २९ रोपनी क्षेत्रफलमा फैलिएको छ । पाँचओटा भवन २०५३ समलमा नै नेदरल्याण्डस् सरकार मार्फत निर्माण गरिदिएको थियो । २०७२ सालको भूकम्पले सबै भवन बस्न नहुने गरी जीर्ण अवस्थामा छन् ।
नेपाल बाल सङ्गठनले बालकको उचित खान, बस्न लगायत आवश्यक व्यवस्थापन गर्ने जिम्मेवारी लिएपनि हाल कुनै भूमिका निर्वाह नगरेको बाल सङ्गठन दोलखाका उपसभापति रामकृष्ण थापाले बताए । नेपाल बाल संगठनले जिम्मेवारी लिएर कुनै सहयोग नगर्दा र भवन मर्मतको लागि चासो नदिँदा बालकहरु जोखिमयुक्त घरमा बस्न बाध्य भएको उपसभापति थापाले बताउनु भयो ।