सुनापति गाउँपालिका–१ को डहु माविमा एक वर्षदेखि विद्यालय नर्स नहुँदा विद्यार्थीहरूको प्राथमिक उपचारमा समस्या भएको छ ।
जिल्लाको नमूना विद्यालय विद्यालयको रूपमा रहेको सो सामुदायिक विद्यालयले छात्रावास समेत सञ्चालन गरेको छ । विद्यालयमा १ सय ५० बढी विद्यार्थीहरू छात्रावासमा बस्ने गर्दछन् भने ५ सय बढी विद्यार्थी अध्ययन गरिरहेका छन् ।
विद्यालयमा नर्स नहुँदा विद्यार्थीलाई सामान्य समस्या आउँदा पनि स्वास्थ्य संस्था लैजानु पर्ने वा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी बोलाएर जाँच गराउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक दलबहादुर बलले बताउनु भयो ।
‘प्रदेश सरकारको एक विद्यालय एक स्टाफ नर्स कार्यक्रम त आएको छ तर रिक्त भएको एक वर्ष पूरा भयो, हालसम्म जनशक्ति व्यवस्थापन हुन सकेको छैन, यसमा दोष कसको हो ? जवाफ कहीँ पनि पाइँदैन ।’-बलले भन्नु भयो ।
विद्यालयले एक वर्षको १ लाख रुपियाँ बढीको औषधि खरिद गरेर विद्यार्थीको प्राथमिक उपचार गराएको पनि उहाँले बताउनु भयो । ‘प्रदेश सरकारले एकमुष्ट ४२ हजार रुपियाँको औषधि दिन्छ, औषधि ठुलो कुरा भएन सबैभन्दा समस्या दक्ष जनशक्तिको भयो, जो प्रदेश सरकारले एक वर्षसम्म पनि पठाएको छैन ।’-उहाँले भन्नु भयो ।