पातारासी गाउँपालिका जल जमिन, जङ्गल र जडिबुटि प्राप्त भएको स्थानीय तह हो । पछिल्लो समयमा अव्यवस्थित विकास निर्माण, वनजङ्गल फडानी, वृक्षारोपण, वातारवण संरक्षण नहुँदा जलवायू परिवर्तनका कारण पानीको स्रोत घट्दै गएको हो ।
पातारासी गाउँपालिकाले पानीका मुलको स्रोत अध्यायन गरेको थियो । स्थानीय तहभित्र ४ सय ९५ ओटा पानीका स्रोत मध्ये ३ सय ६५ ओटा पानीका स्रोत सञ्चालनमा रहेका छन् । १ सय ३० ओटा पानीको स्रोत (मुल) सुकेको तथ्याङ्क रहेको छ । जसमध्ये १ सय २९ ओटा मात्रै पानीका स्रोत प्रयोगमा छन् । अव्यवस्थित विकास, वन फडानी वृक्षारोपणको अभाव लगायतका कारणले पानीका मुहान सुक्दै गएका हुन् ।
नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईले वातावरण संरक्षण बिना जलस्रोतको संरक्षण गर्न मुस्किल हुने भएकोले त्यसतर्फ स्थानीय तहले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले अबको विकास वातावरणमैत्री हुनुपर्ने उल्लेख गर्नुभयो । पातारासीले जल, जमिन, कृषि र जडिबुटिबाटै समृद्धि ल्याउन सक्ने सम्भावना देखिन्छ ।
जलस्रोतको संरक्षण गर्न स्थानीय तहले वातावरण ऐन ल्याएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनु भयो । उहाँले भन्नुभयो – ‘हाम्रो विकासे गतिविधिले पनि वातारवण मासिएको छ । अब सजग हुने बेला आएको छ । पानीका मुहान बचाउन ऐन नै ल्याएका छौँ । साथै हिउँदे गाउँसभाबाट जलस्रोत तथा वन संरक्षण सम्बन्धी नीति ल्याइने तयारी गरिएको छ । पातारासीमा कृषि जडिबुटिसँगै पानीको स्रोतबाट समृद्ध बन्न सक्ने सम्भावना छ ।’