
फतुवा विजयपुर नगरपालिका-१ स्थित शितलपुर गाउँको एक दलित प्राथमिक विद्यालयका बालबालिकाहरू चिसो भुइमा बसेर पढ्न बाध्य छन् ।
२०६४ सालमा स्थापना भएको दलित प्राथमिक विद्यालयमा पराल तथा खरले छाएको छानो मुनि आफ्नै घरबाट ल्याएको प्लास्टिकको बोरा बिछ्याइ चिसो जमिनमा बसेर बालबालिकहरू पढ्दै आइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश महराले बताउनु भयाे । स्थापनाकालदेखि नै बालबालिकाहरू पराल तथा खरको छाने मुनि बोरा बिछ्याएर पढ्दै आएकोमा ०७९ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष विजय कुमार यादवले टायलको छानोको व्यवस्था गरिदिएका छन् ।

वर्षायामको समयमा पानी चुहिने र हिउँदको समयमा खुल्ला आकाश मुनि चिसो भुइमा बसेर पढ्नुपर्दा बालबालिकाहरू बिरामि भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश महराले बताउनु भयो ।

नगरपालिकाको शिक्षा अनुदानमा सञ्चालनमा रहेको दलित प्राथमिक विद्यालयमा ३ सय जना विद्यार्थी र ६ जना शिक्षक शिक्षिका रहेका छन् । एका तर्फ भौतिक संरचनाको अभावका कारण विद्यार्थी बालबालिकाहरू खुल्ला आकाश मुनि बोरा बिछ्याएर पढ्न बाध्य छन् भने अर्को तर्फ एकै ठाउँमा राखेर पढाउँनु पर्दा शिक्षण शिकाईमा समस्या बढेको शिक्षिका रमिता रामले बताउनुभयो । 
त्यसैगरी, आर्थिक अभावका कारण कार्यालय सहयोगी राख्न नसकेको र बालबालिकालाई दिइने दिवा खाजा समेत ०८१ साउन देखि रोकिएको अवस्था रहेको प्राधानाध्यापक हिरालाल यादवले बताउनुभयो । तराई मधेस समृद्धि नामक संस्थाको नाममा रहेको विद्यालयको जग्गा सस्थाले विद्यालयको नाममा नामसारी गर्ने सर्त बमोजिम नगरेको हुँदा भवन निर्माणको लागि बजेट विनियोजनमा समस्य आएको प्रधानाध्यापक यादवले जानकारी दिनु भयो ।


संस्थाले विद्यालयको नाममा नामसारी नगरेसम्म भवन निर्माणको लागि नगरपालिकाबाट विनियोजन हुने रकम दिन नसकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले बताउनुभयो । सस्थाले आफ्नो नाममा भएको जग्गा विद्यालयको नाममा नदिएसम्म भवन निर्माण गर्न कठिनाइ हुने हुँदा छिटोभन्दा छिटो उक्त जग्गा विद्यालयको नाममा ल्याउने प्रकृया सुरु गर्ने र आगामि योजनामा यस विद्यालयको भवन निर्माणको लागि बजेट विनियोजन गरी समस्या समाधान गर्ने वडा अध्यक्ष विजय कुमार यादवले बताए।

