INSEC Online

📅 २०८३ जेष्ठ २१

बालक हत्या आरोपित गिरफ्तार

हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहका १७ वर्षीय सुरज साह स्वर्णकारको हत्या आरोपमा फरार रहेका एक जना ०८१ पुष ७ गते गिरफ्तार भएका छन् ।

इलाका प्रहरी कार्यालय भारदहको टोलीले अभियुक्तलाई गिरफ्तार गरी बाल सुधार गृह विरगञ्ज पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतले बताउनु भयो । हत्या घटनाका बेला १५ वर्ष १० महिना १४ दिनका बालक हाल २० वर्ष ७ महिनाका भएका छन् ।
अभियुक्तसहित १७ वर्ष ७ महिना १४ दिनका बालक र हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहका १९ वर्षीय टिल्का भनिने चन्द्रशेखर मण्डलले ०७६ चैत ३० गते राति सुरजको हत्या गरेको भन्दै मृतकका बुबा ज्ञानु भनिने जानो कुमार साह स्वर्णकारले ०७७ वैशाख १ गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिनुभएको थियो ।
‘लकडाउन’ मा ०७६ चैत ३० गते राति खाना खाएर घर बाहिर निस्केका सुरजको शव ०७७ वैशाख १ गते भारदहस्थित कङ्कालिनी मन्दिरदेखि साढे एक किलोमिटर दक्षिण कोशी पश्चिमी तटबन्ध नजिकको झ्याङ्गमा हत्या गरेर मिल्काइएको अवस्थामा फेला परेको थियो ।टाउकोमा फलामको गह्रौ वस्तुले प्रहार गरेको चोटपटक र तीन/चार ठाउँमा काटेर हत्या गरेको अवस्थामा शव फेला परेपछि अपरिचित व्यक्तिले हत्या गरेको भन्दै सुरजका बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा वैशाख १ गते उजुरी दिनु भएको थियो । प्रहरीले अनुसन्धानका लागि शङ्का लागेका बालकका साथीहरूलाई अभद्र व्यवहारमा कारवाही चलाई अनुसन्धान गरिरहेकोमा आरोपितहरूले हत्या गरेको स्वीकारेपछि प्रहरीले वैशाख १७ गते हत्याको उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको थियो ।
चैत ३० गते राति चोरी गरेर नयाँ वर्षमा रमाइलो गर्ने योजना अनुरूप भेला भएका चार जना साथीहरूले गाँजा र सोनपिच नामक लागु औषध खाएको र सोही बेला नशाको बेहोसीमा उठेको रिस थाम्न नसकी कुटपिट गरेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । तत्कालिन डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार हत्या स्वीकारेका आरोपितहरूले देखाएको स्थानमा गई हँसनीया दहमा मिल्काएको खुकुरी, आधा जलेको बोरा, डोरीका रूपमा प्रयोग गरेको जुत्ताको तुना, झुग्गीमा लुकाएको ताला फुटाउने कटर फेला परेको थियो ।
शवको पोस्टमार्टम ०७७ वैशाख २ गते धरानस्थित बि‌.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । जिल्ला अदालतमा ०७७ वैशाख ३० गते अभियोजन पत्र दायर भएकोमा चन्द्रशेखर मण्डल ०७७ जेठ १ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
अन्य दुई जना कसुरदारहरूको उमेर बालक भएको भनी अदालतले जेठ १ गते आ-आफ्नो अभिभावकको जिम्मा जमानीमा छाडेको थियो ।
जिल्ला अदालतले १९औं पेशीमा ०७९ भदौ ७ गते हत्या कसुरमा तीन जनाविरुद्ध अभियोग दावी पुग्ने फैसला गरेको थियो । न्यायाधीश हेमन्त रावलको इजलासले हनुमाननगर कङ्कालिनी नगरपालिका-१ भारदहका १९ वर्षीय टिल्का भनिने चन्द्रशेखर मण्डललाई जन्मकैद सजायको फैसला गरेको थियो ।
यसैगरी हत्याको कसुरमा १५ वर्ष १० महिना १४ दिनका बालकलाई आधा कैद सजाय र १७ वर्ष ७ महिना १४ दिनका बालकलाई दुई तिहाई कैद सजाय भएको अदालतले जनाएको छ । बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३६ को (३) मा बालकको उमेर १४ वर्ष वा सो भन्दा माथि र १६ वर्ष भन्दा मुनि भए निजलाई कानून बमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा सजाय हुने उल्लेख छ । यस्तै दफा ३६ को (४) मा १६ वर्ष भन्दा माथि र १८ वर्ष भन्दा मुनिको बालकले अपराध गरेमा दुई तिहाई सजाय हुने उल्लेख छ ।

अन्य

भिडियो