नेपाली कांग्रेस हुम्ला जिल्ला उपसभापती ४६ वर्षीय बसन्त रोकायाले कर्णाली करिडोर अन्तर्गत सिमकोट–खार्पुनाथ सडक खन्न प्रयोग गरिएको डोजरलाई तोडफोड गरेको डोजर मालिक अर्जुन महताराले आरोप लगाउनु भएको छ ।

कर्णाली करिडोर अन्तर्गत मङ्सिर ३० गते सिमकोट–खार्पुनाथ सडक खण्डको बाटो निर्माणका क्रममा उपसभापती रोकायाको जग्गा मिचेको आरोप लगाउँदै सो डोजर तोडफोड गरेको डोजर मालिक महताराको भनाइ छ । तोडफोडबाट करिव १२ लाख रुपियाँ बराबरको क्षति भएको डोजर महताराले बताउनु भयो । महताराले सडक खन्न करिब ५ सय मिटर मात्रै बाँकी रहेका बेला जिल्ला उपसभापति रोकायाले डोजरमा ढुङ्गा प्रहार गरी क्षति पुर्याएको बताउनु भयो ।
मानसरोवर स्कुलभन्दा तलतिरको मोडनेमा उपसभापति रोकायाको जग्गा पर्ने भएकाले विवाद हुँदै आएको थियो । रोकायाले बाटो बनाउने क्रममा आफ्नो जग्गा मिचिन नहुने बताउँदै आउनु भएको थियो । डिपीआर बन्दा पनि आफ्नो जग्गा मिचिने गरी बनाएको भन्दै उहाँले विरोध गर्नुभएको थियो ।
उक्त समयमा जग्गाको केही भागमा डोजरले खनेको भन्दै रोकायाले ढुङ्गा प्रहार गरेको छ । डोजरमा ढुङ्गा हानिसकेपछि उहाँलाई सादा पोशाकका प्रहरीले रोकेका थिए । घटनाका विषयमा मङ्सिर ३० गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज कडेलले बताउनु भयो ।