धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मङ्सिर २४ गते धरानमा मौन जुलुस प्रदर्शन गरेका छन् ।
मेयर साम्पाङले पत्रकारहरूलाई धम्की दिँदै आएकाले पत्रकार असुरक्षित भएको भन्दै पत्रकारहरूले मौन जुलुस निकालेका हुन् ।
नेपाल पत्रकार महासंघका पूर्वउपसभापति हर्ष सुब्बाले धरानका मेयर साम्पाङले पत्रकार महासंघ सुनसरीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय जनकऋषि राई र धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाललाई ०८१ मङ्सिर १९ गते सामाजिक सञ्जालमार्फत धम्की दिएका थिए ।
समाचार लेखेकै कारण पटकपटक सामाजिक सञ्वलमा चरणवद्ध धम्की दिँदा समेत साम्पाङलाई कारवाही नभएको भन्दै पत्रकारहरू आन्दोलनमा उत्रनु परेको नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले बताउनु भयो ।
पत्रकार महासंघको नेतृत्वमा भानुचोकबाट निस्किएको जुलुस कलेज रोड, छाता चोक हुँदै धरान उपमहानगरपालिकाको मुख्य गेटमा पुगेर मेयरका अराजक गतिविधि नियन्त्रण गर्न माग गरिएको थियो ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति हर्ष सुब्बाले साम्पाङले पत्रकार धम्काएपछि इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिँदा र गृहमन्त्रलाई ज्ञापनपत्र बुझाउँदा समेत कारवाही नहुनु दुखद भएको बताउनु भयो । उहाँले पत्रकार धम्काउने मेयर साम्पाङलाई कारवाही गर्न र पत्रकारहरूको सुरक्षा व्यवस्था मिलाइ स्वतन्त्रपूर्वक काम गर्ने वातावरण मिलाउन माग गर्नु भयो ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षक भनि परिभाषित गरेको छ ।



