मुखियापट्टी मुसहर्निया गाउँपालिका-६ लक्ष्मीपुरकी २५ वर्षीया आर्जु यादवको कुटपिट गरी हत्या गरेको आरोपमा पति ३० वर्षीय अनिल कुमार यादव, ससुरा ६५ वर्षीय देवनारायण यादव र देवर २५ वर्षीय गोली यादवविरुद्ध ०८१ मङ्सिर ५ गते मृतककी आमाले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको छ ।
मृतककी आमा सरितादेवी यादवका अनुसार मङ्सिर ३ गते छोरीलाई आरोपितहरूले कुटपिट गरी हत्या गरेको र घटनालाई लुकाउन शवलाई पङ्खा झुण्ड्याउने रडमा झुन्ड्याएको हो । मृतकको हात र खुट्टामा चोटको निलडाम रहेको र मङ्सिर १ गते पनि मेरी छोरीलाई आरोपितहरूले कुटपिट गरेको छोरीले फोन मार्फत आफूलाई बताएको उहाँले जानकारी दिनुभयो ।
“आरोपित ज्वाईको सम्बन्ध पर स्त्रीसँग भएकोले मेरी छोरीलाई बाम्बार कुटपिट गरी शारीकि तथा मानसिक यातना दिइ हत्या गरेको” मृतककी आमाको भनाइ रहेको छ ।
शवको पोस्टमार्टम मङ्सिर ४ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषा मुद्दा शाखाका इन्स्पेक्टर सागर कार्कीले जानकारी दिनुभयो ।