INSEC Online

📅 २०८३ जेष्ठ २१

घर निर्माण नहुँदा पहिरो पीडितको जीवन कष्टकर

खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा पहिरो पीडितहरुको घर निर्माण कार्य पुरा नहुँदा उनीहरूको जीवन कष्टकर बनेको छ ।
पहिरो पीडित ५५ परिवारको घर निर्माण कार्य रोकिए पछि उनीहरूको जीवन कष्टकर बनेको खाँदबारी नगरपालिका–७ का वडा सदस्य झलक कुसुलेले बताउनुभयो । कुसुलेका अनुसार जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाबाट दोस्रो किस्ताको रकम भुक्तानी नहुँदा माघ महिनादेखि पहिरो पीडितको घर निर्माण कार्य रोकिएको छ ।
वि.स. २०७७ असार २८ गते राति आएको पहिरोबाट सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ९७ घर परिवार विस्थापित भएका थिए । सो पहिरोले नौ ओटा घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । विस्थापित भएका बेसिन्दाका ५५ परिवारको लागि खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा घर निर्माण थालिएको थियो ।

Photo 20241122 Sankhuwasabha 1
सङ्घीय सरकारबाट दोस्रो किस्ताको रकम नआउँदा पहिरोबाट विस्थापित परिवारको घर निर्माण अलपत्र परेको हो । सङ्घीय सरकारबाट रकम निकासा नहुँदा पहिरो पीडितलाई दोस्रो किस्ता बापतको रकम भुक्तानी दिन नसकिएको सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार सङ्घीय सरकारले दिनुपर्ने ६० प्रतिशत रकम जिल्ला प्रशासन कार्यालयको खातामा नआउँदा दोस्रो किस्ताको रकम दिन सकिएको छैन् ।
पहिरो पीडितको घर निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान रकम दिने निर्णय गरेको थियो । यस्तै प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो ।
प्राविधिकको मुल्याङ्कन अनुसार पहिरो पीडितको आवास निर्माणका लागि ५ लाख ५० रुपियाँ तोकिएको थियो । उक्त रकम तीन किस्तामा भुक्तानी गरिने सम्झौता भएपनि हालसम्म ५० हजार रुपियाँ मात्र भुक्तानी भएको छ । पहिरो पीडित ५५ परिवारको आवासका लागि भैरे डाडाँमा १ करोड ३० लाख रुपियाँ खर्चेर ६९ रोपनी जग्गा खरिद गरिएको थियो ।
पहिरो पीडितले घर निर्माणको पहिलो किस्ताको ५० हजार रुपियँ मात्र पाएका छन् । जसमध्ये २५ ओटा घरको ५० प्रतिशत र ३० ओटा घरको २५ प्रतिशत काम मात्र सकिएको छ ।
चार वर्षसम्म घर निर्माण पुरा हुन नसक्दा पहिरो पीडितहरु टेण्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । पहिरोबाट विस्थापित भएको झण्डै साढे २ बर्ष पछि बेसिन्दा गाउँका पहिरो पीडितहरूको घर निर्माण थालिएको थियो । घर निर्माण अलपत्र भएर पुनःस्थापना हुन नसक्दा अस्थायी टहरामा बस्दै आएका पहिरो पीडित परिवारले जीवन कष्टकर बनेको गुनासो गरे ।

अन्य

भिडियो