INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिनै सास्ती !

सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्नु पर्ने बाध्यताले दुर्गमका ज्येष्ठ नागरिकले सास्ती भोग्नु परेको छ । बैंकबाट भत्ता लिँदा दुरुपयोग हुने सम्भावना कम भए पनि विकट ठाउँबाट बैंकसम्म आइपुग्न भने ज्येष्ठ नागरिकहरुले सास्ती भोग्न परेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीबाट बदमासी भएको भन्दै लाभग्राहीलाई बैंक खातामार्फत भत्ता दिने नीति बनाए पनि भत्ता लिन स्थानीय तहको सदरमुकाममा नै पुग्नु पर्ने भएकाले वृद्ध तथा अशक्तले सास्ती व्यहोर्नु परेको हो ।

पहाडी क्षेत्रमा भौगोलिक कठिनाइले गर्दा स्थानीय तहका सदरमुकाममा रहेका बैंकमा खाता खोलेर भत्ता पाउन सास्ती खेपिरहनु परेको अपिहिमाल गाउँपालिका–२ का ज्येष्ठ नागरिक शालिभानसिह कार्कीले गुनासो गर्नु भयो । उहाँले भन्नुभयो, गाविस हुँदा त घरमै भत्ता बुझ्ने गरेका थियाैँ । सिंहदरबार गाउँमा आएपछि राहत हैन झन दुख पाएका छौँ ।

यसअघि गाविसको कार्यालयबाटै परिचय–पत्रका आधारमा सामाजिक सेवा भत्ता वितरण गर्दै आएको सरकारले अहिले बैंकिङ प्रणाली अनिवार्य गरेपछि बृद्धबृद्धाहरूलाई सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो छ ।

यो प्रक्रिया अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरूले नेपालका ‘क’ र ‘ख’ वर्गका बैंकमा अनिवार्य खाता खोल्नु पर्छ । सरकारले सामाजिक सुरक्षा भत्ताबापतको रकम सोही खातामा सिधै जम्मा गरिदिने व्यवस्था गरेको छ । कागजी प्रक्रिया बारे अनभिज्ञ रहने उनीहरूलाई बैंकमा खाता खोल्ने मेसो पहिल्याउनै हम्मे–हम्मे पर्ने गरेको छ ।

‘सुरुमा खाता खोल्न कसैले बाकेर लैजनु पर्ने र भत्ता बुझ््न पनि कसैले बोकेर नै लैजानु पर्छ यस्तो भत्ता निल्नु न ओकेल्नु भएको छ,’ कार्कीले भन्नुभयो, ‘सुविधा दियो कि सरकारले दुःख दियो बुझ्नै सकिएन ।’

‘पहिले आफ्नै घर नजिक भत्ता पाइने चलन राम्रो थियो । अचेल त पालिकासम्म चार घण्टा बढि हिड्नु पर्छ, भत्ता लिने दिन नजिक आउँदा झस्किन्छु,’ उहाँले भन्नुभयो, ‘भत्ता लिन जान मान्छे चाहिन्छ । छोरा बुहारी आफ्नै काममा व्यस्त भएको बेला उनीहरु नगए भत्ता ल्याउन नसकिने उहाँले दुखेसो पोख्नु भयो ।

अपिहिमाल गाउँपलिका–२ को दैभातका स्थानीयले एक दिन लगाएर बैंक भएको स्थानमा पुग्नु पर्छ । भत्ता बुझ्ने अघिल्लो दिन हिड्यो भने मात्रै बैंक सञ्चानलमा रहको ठाउँसम्म पुग्न सकिन्छ, स्थानीय भरतसिह धामीले भन्नुभयो, ‘ज्येष्ठ नागरिक र अपाङ्गगता भएका व्यक्तिको लागि सामाजिक सुरक्षा भत्ताले झन दुख दिएको छ ।’ बाटो घाटो राम्रो छैन् । दैभातबाट खण्डेश्वरी पुग्न जङ्गलको बाटो ओकाली ओराली निकै कठिन छ ।

धेरै विकटमा भएका ज्येष्ठ नागरिकका लागि जिल्लाका अन्य स्थानीय तहले सम्बन्धित बैंकसँगको सहकार्यमा वडामा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरे पनि अपिहिमाल गाउँपालिकाले पालिकामा रहेको बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।

अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा माछापुच्छ«े बैंकको शाखा रहेको छ । वडा नम्बर १, २, ५ र ६ का ज्येष्ठ नागरिक तथा अपाङ्गगता भएका व्यक्तिको लागि अहिले सामाजिक सुरक्षा भत्ता बुझ्न निकै सास्ती छ ।

वडा नम्बर १ को ल्वाथी, लुम्चा, सिती भट्टार, वडा नम्बर २ को दैभात, वडा नम्बर ५ को लुम्थी, साउगन्ना, र वडा नम्बर ६ को सितोला, मुरै लगायतका ठाउँबाट बैंकसम्म पुग्न पुरै एक दिन समय लाग्छ ।

अपिहिमाल गाउँपालिका पञ्जीकरण शाखाका एमआइएस अपरेटर दिपक टमट्टाका अनुसार गाउँपालिकाभरि ६ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् । जसअनुसार ज्येष्ठ नागरिक ३ सय ८५ जना, ज्येष्ठ नागरिक दलित १० जना, ज्येष्ठ नागरिक एकल महिला ३५ जना, विधवा १ सय १ जना, पूर्ण अपाङ्गता भएका नौ जना, आंशिक अपाङ्गता भएका ५३ जना, अतिअसक्त ५३ जना तथा दलित बालबालिका ३६ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।

गाउँपालिकाले वडास्तरमा गएर सामाजिक सुरक्षा भत्ता वितरणको लागि बैंकसँग पहल गरे पनि बैंकले सफ्टवयर ल्याउन नसक्दा ढिलाई भएको अपिहिमाल गाउँपालिकाका सूचना अधिकारी पानसिह धामीले जानकारी दिनु भयो । अहिले सबै सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति बैंकमै आएर लिने गरेका छन् ।

अन्य

भिडियो