जिल्ला अस्पताल मुस्ताङमा ०८० भदौ महिनादेखि शल्यक्रिया सेवा अबरुद्ध हुँदा बिरामीहरु सो सेवाबाट वञ्चित भएका छन् । दक्ष चिकित्सकको अभावका कारण शल्यक्रिया हुन नसक्दा सेवाग्राही मर्कामा परेका हुन् ।
पर्यटकलाई हाईअल्टिच्युट(लेक लाग्ने) तथा सामान्य दुर्घटना भएमा पनि शल्यक्रियाका लागि म्याग्दी, बागलुङ, पर्वत हुँदै कास्कीको पोखरासम्म पुग्नु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । सङ्घीयता कार्यान्वयन सँगै मुस्ताङ अस्पताललाई ०७७ सालदेखि १५ शैयाको अस्पताललाई २५ शैया बनाएर सेवा दिन थालिएको छ ।
जिल्लामा रहेको संरचनामै प्रयोग गर्न मिल्ने गरी ल्याब, युएसजीलगायतका संरचना निर्माण गरेको भए पनि त्यसलाई प्रयोग गर्ने जनशक्ति नहुँदा भएका सामग्रीहरु पनि जीर्ण बन्दै गएको सर्वसाधारणको भनाइ छ । स्वास्थ्यसम्बन्धी कुनै समस्या भएको खण्डमा तत्काल उपचार गर्न सकिएन भने के गर्ने भन्ने तनाव हुने गरेको स्थानीयको भनाइ छ । सामान्य मात्रै शल्यक्रिया गर्नु पर्ने भएको खण्डमा मुस्ताङबाट अलिक नजिक पर्ने म्याग्दीको बेनी वा पोखरा पुर्याउनु पर्ने जोमसोमका पर्यटन व्यवसायी अमृत सुवेदीको भनाइ छ ।

मुस्ताङ अस्पतालमा ०८० को भदौदेखि एमडिजिपी चिकित्सक नहुँदा शल्यक्रिया तथा सामान्य चिरफारका लागि पनि मुस्ताङले माथिल्लो अस्पतालका लागि रिफर गर्नु पर्ने बाध्यता रहेको छ । हाल २५ शैयामा सञ्चालित मुस्ताङ जिल्ला अस्पतालमा एक जना नवौँ तहका चिकित्सकसहित १८ जनाको दरबन्दी सृजना गरिएको छ । तर, नवौं तहको चिकित्सक नै व्यवस्थापन गर्न सकिएको छैन । हाल मुस्ताङ जिल्ला अस्पतालमा आठौँ तहको स्थायी चिकित्सकसहित अरु करारका एमबीबीएस चिकित्सक रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट तेजस नेपालले जानकारी दिनु भयो । ‘हाल भएको जनशक्तिले प्रसूति तथा शल्यक्रिया सेवा दिन अलिक जोखिम हुन्छ । तर, जोखिमरहित भएको खण्डमा भने हामीले सेवा दिने गरेका छौँ ।’-उहाँले भन्नु भयो ।
०७८ सालमा अस्पताल व्यवस्थापन समिति र जिल्लाका पाँच स्थानीय तहका जनप्रतिनिधिले अस्पतालमा एमडिजिपी चिकित्सक भर्ना गर्ने र सबै स्थानीय तहले मासिक २० हजार रुपियाँका दरले मुस्ताङ जिल्ला अस्पताललाई उपलब्ध गराउने सहमति गरेका थिए । त्यही सहमति अनुसार अस्पतालले पहिलो पटक एमडिजिपी चिकित्सक कुन्दन कर्णलाई मुस्ताङ अस्पतालमा करारमा ल्याइएको थियो । कर्ण ०७९ भदौ ४ गते अस्पतालबाट विदा हुनुभयो । त्यसको ६ महिना पछि तत्कालिन मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. बिशाल तिवारीको पहलमा अर्का एमडिजिपी चिकित्सक मुखिया घलेलाई मुस्ताङ अस्पताल ल्याइएको थियो । डा.घले ०८० भदौ १७ गते अस्पतालबाट गएपछि हालसम्म अर्को व्यक्ति ल्याउन नसकिएको डा.नेपालको भनाइ छ । ‘अहिले पनि प्रयास गरिरहेको छु । छलफल सकारात्मक छ । हेरौँ के हुन्छ ?’-उहाँले सुनाउनु भयो ।

मुस्ताङ अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले अस्पतालका लागि एमडिजिपी चिकित्सकको व्यवस्थापन गरिदिन सम्बन्धित निकायमा धेरै पटक अनुरोध गरेपनि व्यवस्था नभएको बताउनु भयो । अस्पतालका लागि एमडिजिपी चिकित्सक माग गर्दै धेरै प्रयास गरिएको उहाँको भनाइ छ ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रीसँग पनि समन्वय भएको तथा मुख्यमन्त्रीलाई पनि कुरा गर्नुका साथै सङ्घीय स्वास्थ्य मन्त्रालयसम्म पनि पहलका लागि आवश्यक समन्वय भएको भएपनि हालसम्म त्यो काम सफल हुन नसकेको अध्यक्ष गुरुङले भन्नु भयो ।