INSEC Online

📅 २०८३ जेष्ठ २१

‘दिवा खाजा’ को लागि आर्थिक अभावमा नियमित विद्यालय जाँदै रामग्रामका बालबालिका

रामग्राम नगरपालिकाका अधिकांश बालबालिका ‘दिवा खाजा’ को लागि विद्यालय जाने गरेका छन् । बालबालिकाहरू आर्थिक अभावका कारण नियमित रूपमा विद्यालय जाँदैनथे । जिल्लाको सदरमुकाम रहेको रामग्राम नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउँदै आएको १५ रुपियाँमा १० रुपियाँ थप गरी कुल २५ रुपियाँ बनाएपछि दिवा खाजाको लागि विद्यार्थीहरू दैनिक विद्यालय जान थालेका हुन् ।

उनीहरूका लागि दिवा खाजा बापत सरकारले दैनिक १५ रुपियाँ उपलब्ध गराएको भए पनि दिवा खाजा कार्यक्रमले विद्यार्थीहरूलाई पूर्ण रूपमा विद्यालयप्रति आकर्षित गर्न सकेको थिएन । दिवा खाजाको रूपमा १० रुपियाँ थप गरी कुल २५ रुपियाँ बनाएपछि विद्यालयमै खाजा खुवाउने व्यवस्था मिलाउँदा विद्यार्थीहरूको विद्यालय आउने दर बढ्ने गरेको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपद यादवले बताउनु भयो ।

दलित, जनजाती, मधेशी र अन्य सिमान्तकृत सामुदायका आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरुको बाहुल्यता रहेको रामग्राम नगरपालिकाले खाजा रकममा थप गरेपछि विद्यार्थीहरूको उपस्थिति सङ्ख्यामा उल्लेख्य वृद्धि भएको नगरप्रमुख यादवले बताउनु भयो ।

दिउँसोको समयमा बुबा आमा अर्काको खेतबारीमा काम गर्न जाने र बालबालिकाहरू घरायसी काम गरेर बस्ने गरेको उहाँले उल्लेख गर्नुभयो । बुबा आमासँगै मेलापातमा बालबालिकाहरूले समय बिताउने गरेकोमा अहिले आएर अलि अलि पढ्नुपर्छ भन्ने चेतना बढ्दै गए पनि बालबालिकाहरूलाई नियमित विद्यालय पठाउन समस्या रहेको छ ।

यसैगरी पवन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक शालिकराम लामिछानेले स्थानीय तहले छुट्याएको रकम सानो मात्राको भए पनि आर्थिक रूपमा विपन्न परिवारका लागि गुणात्मक प्रभाव परेको बताउनु भयो । साथै, रामग्राम नगरपालिका-५ का वडाध्यक्ष रामवृक्ष यादवले सुरुवातमा १० रुपियाँ मात्रै बढाए पनि स्थानीय तहको आन्तरिक आयमा वृद्धि भएमा अझ धेरै रकम थप गरिने र यो कार्यलाई महत्त्वको साथ अगाडि बढाइने बारे कार्यपालिकामा छलफल भएको जानकारी दिनुभयो ।

दिवा खाजाको रकम बढाउनु राम्रो कदम भएपनि खाजाको गुणस्तर र समान वितरणमा स्थानीय तहले अनुगगन गर्ने रामग्राम नगरपालिकाका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक सम्झना चौधरीले बताउनु भयो ।

अन्य

भिडियो