खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे आधारभूत विद्यालय तीन महिनादेखि बन्द हुँदा पठनपाठन प्रभावित भएको छ ।
थामेबाट ०८१ साउन ३२ गते आएको बाढीले विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षति भएर विद्यालय बन्द हुनाले पठनपाठन प्रभावित भएको हो । थामेको माथिल्लो भूभागमा पर्ने दुई ओटा हिमपोखरी फुटेर आएको बाढीले विद्यालय भवन र छात्रावास पूर्ण रूपमा क्षति भएपछि पठनपाठन बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाई, सोलुखुम्बका शिक्षा अधिकृत प्रकाण्ड न्यौपानेले बताउनु भयो ।
न्यौपानेका अनुसार बाढी र डुबानका कारण विद्यालयमा रहेको शिक्षण पुस्तिका, शैक्षिक कागजात, शैक्षिक सामग्री, दराज, विद्युतीय उपकरण, कम्प्युटरलगायका सामानमा क्षति भएपछि विद्यालय बन्द गर्नुपरेको हो ।

बन्द गर्नुपरेको थामे आधारभूत विद्यालय तत्काल बनाउन सक्ने अवस्था नभएकाले विद्यार्थीहरूलाई खुम्वु पासाङल्हामु गाउँपालिका–५ स्थित खुम्जुङ माध्यमिक विद्यालयमा स्थानान्तरण गरी पठनपाठनको तयारी गरिएको शिक्षा अधिकृत न्यौपानेले जानकारी दिनु भयो ।
कक्षा ७ सम्म पढाइ हुने गरेको थामे आधारभूत विद्यालयमा ५० जना विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयले जनाएको छ । विद्यार्थीका शैक्षिक सामग्रीहरू फाप्लुबाट हेलिकप्टरमार्फत लगेर वितरण गर्ने तयारी गरिरहेको गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले बताउनु भयो ।
यसअघि नै खुम्जुङ माध्यमिक विद्यालयमा स्थानान्तरणको लागि पहल गरिएको भएपनि विभिन्न कारणले हुन नसकेको गाउँपालिकाले जनाएको छ ।