INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिका र विद्यालय व्यवस्थापन समितिको विवादले शिक्षक कर्मचारी सात महिनादेखि तलबबाट वञ्चित

सुनापति गाउँपालिका–२ दिमीपोखरीको श्री माध्यमिक विद्यालय मन्दर मेलचौरमा अध्यापन गर्ने शिक्षक कर्मचारीहरू विद्यालय व्यवस्थापन र गाउँपालिकाको विवादका कारण सात महिनादेखि तलब भत्ताबाट वञ्चित भएका छन् ।

विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबिच विवाद हुँदा सो विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूले यो शैक्षिक सत्र सुरु भएदेखि (०८१ वैशाख महिना) नै तलब भत्ता पाएका छैनन् । आपसी विवादका कारण सो विद्यालयलाई पठाउने तलब भत्ताको रकम गाउँपालिकाले रोक्का गरेको कारण शिक्षक कर्मचारीहरू तलब सुविधाबाट वञ्चित भएका हुन् ।

गाउँपालिकाले विद्यार्थी कम भएको भन्दै सो विद्यालयलाई गएको शैक्षिक सत्रमा आधारभूत विद्यालयमा घटुवा गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध विद्यालय व्यवस्थापन समिति मुद्दामा गएकोमा उच्च अदालतले विद्यालय घटुवाको फैसला कार्यान्वयन नगर्न आदेश दिएको थियो । सो मुद्दामा सर्वोच्च अदालतले भने यस शैक्षिक सत्रबाट गाउँपालिकाको निर्णय कार्यान्वयन गर्न आदेश दिएको थियो ।

सर्वाेच्च अदालतले आधारभूत विद्यालय कायम गर्ने आदेश दिएको भए पनि विद्यालय प्रशासन र व्यवस्थापनले अटेर गरी माध्यमिक विद्यालयकै लेटरहेड प्रयोग गरेर कक्षा सञ्चालन गरेकाले विद्यालयको खाता रोक्का गरिएको सुनापति गाउँपालिका शिक्षा शाखा प्रमुख कमलबहादुर बलमे बताउनु भयो ।

photo20241111ramechhap

‘हामीले तलब भत्ताको रकम विद्यालयको खातामा पठाएका छौँ । तर, विद्यालयले प्रक्रिया पुरा नगरेको कारण खाता रोक्का गरिएको हो । आधारभुत विद्यालयको लेटरहेड प्रयोग गरेर रकम निकासाको माग आउने बित्तिकै तलब भत्ता पाउनुहुन्छ ।’–उहाँले भन्नु भयो ।

सो विद्यालयमा हाल निमावि तहका दुई जना, प्राथमिक तहका दरबन्दीका चार र राहत दुई गरी ६ जना, एक जना बाल शिक्षा सहजकर्ता र एक जना कार्यालय सहयोगी गरी १० जना शिक्षक कर्मचारी कार्यरत छन् ।

यसैबिच विद्यालयमा अध्यापनरत शिक्षक तथा कर्मचारीले ०८१ कात्तिक २५ गते संयुक्त विज्ञप्ति प्रकाशित गरी विद्यालय व्यवस्थापन समिति र सुनापति गाउँपालिकाको द्वन्द्वको कारण ०८१ वैशाखदेखि हालसम्म पनि तलब भत्ता नपाएकोले कात्तिक २५ गतेदेखि विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारी विद्यालयमा उपस्थित हुने तर अध्यापन कार्य नगर्ने निर्णय गरेको जनाएका छन् ।

शिक्षक कर्मचारीले शिक्षा विकास तथा समन्वय इकाइ रामेछाप, सुनापति गाउँपालिका कार्यालय हिलेदेवी, सुनापति गाउँपालिका शिक्षा शाखा, सुनापति गाउँपालिका वडा नं २ कार्यालय दिमीपोखरी, जिल्ला शिक्षक महासङ्घ रामेछाप, सुनापति गाउँपालिका शिक्षक महासङ्घ र विद्यालय व्यवस्थापन समितिलाई बोधार्थ दिँदै पठनपाठनको काम रोकेको घोषणा गरेका हुन् ।

अन्य

भिडियो