INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीपहिरोका कारण स्वास्थ्य संस्थाहरू नै बिरामी !

असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षका कारण काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरू बिरामी भएका छन् । धुलिखेल नपा–१२ मा रहेको सङ्खुपाटीचौर स्वास्थ्य चौकी पछाडि भवन पहिरो खसेर पुरिएको छ । वडा नम्बर–८ मा रहेको पकुचा स्वास्थ्य केन्द्रको आसपासमा पहिरो गएर कम्पाउण्ड नै लगेको छ ।

बनेपा नपा–१४ थल्चोकमा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा हिलो पसेर कार्यालयका कागजातहरू नष्ट भएका छन् । पानैती नगरपालिका–१ मा रहेको रयाले स्वास्थ्य चौकी, वडा नम्बर–३ को कुशादेवी स्वास्थ्य चौकी, वडा नम्बर–११ को बल्थली स्वास्थ्य चौकी आसपासमा पहिरो गएर बाटो भत्किएका कारण यहाँबाट स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । वडा नम्बर–८ को मल्पी स्वास्थ्य चौकी पछाडिबाट पहिरो आएका कारण भवन ढल्नसक्ने अवस्थामा रहेको छ । वडा नम्बर–१२ को कलाती भुमेडाँडा स्वास्थ्य चौकीको भवनलाई पहिरोले पुरेका कारण यहाँ स्वास्थ्य सेवा पूर्णतः रोकिएको छ ।

photo202411105kabhre (4)

पनौती नगरपालिकाभित्र द्रुत प्रतिकार्य टोली तथा आपतकालिन चिकित्साकिय समूह परिचालन गरिएको छ । बाढी पहिरो लगत्तै पनौती नगरमा डाक्टर र मनोचिकित्सकहरूको टोलीले गाउँगाउँमा गएर सेवा प्रदान गरेका थिए । नमोबुद्ध नपा–२ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र लकाइनेमा पहिरो खसेका कारण यहाँको शौचालय नै पुरिएको छ । वडा नम्बर–६ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र, चरङगेफेदीको भवन आंशिक रुपमा क्षति भएको छ ।

पाँचखाल नपा–१ को कोट्याङ शहरी स्वास्थ्य केन्द्रको अगाडी पछाडिको भाग पहिरोका कारण क्षति भएको छ । पाँचखालका अधिकांश वडामा पहिरो गएका कारण सर्वसाधारणलाई आवतजातमा समस्या देखिएको छ । वडा नम्बर–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको पछाडि पहिरो गएर पर्खाल भत्किनुका साथै सेवा प्रवाहमा समस्या भएको छ । पाँचखाल नपा–१३ कोशिदेखा स्वास्थ्य चौकीको भवनमा माथिबाट पहिरो आएर भवनमा आंशिक क्षति पुगेको छ ।

photo202411105kabhre (5)

मण्डनदेउपुर नपामा रहेको खोप केन्द्रमा कोल्ड चेन जेनेरेटरबाट सञ्चालन गरिएको छ । यहाँ सामुदायिक भवन, बाग्देवी मावि र झगरेडाँडामा रहेको विद्यालयमा अस्थायी बसोबास राखिएको छ । यहाँ अस्थायी बसोबासमा रहेका विस्थापितहरूलाई स्वास्थ्य केन्द्रबाट स्वास्थ्य परीक्षण गरिएको छ । रोशी गाउँपालिकाको सबै वडामा रहेका स्वास्थ्य संस्थाहरू बाढीपहिरोबाट प्रभावित भएका छन् । यहाँको खोप राख्ने कोल्ड चेन बिग्रेको अवस्था छ । बाटो र बिजुली नभएका कारण अधिकांश वडाले सास्ती व्यहोरिरहेको छ ।

photo202411105kabhre (1)

तेमाल गाउँपालिकाको सस्र्युखर्क स्वास्थ्य संस्थाको पर्खालहरू भत्किएको छ । बेथानचोक गाउँपालिका–४ मा रहेको चलाल गणेशस्थान स्वास्थ्य चौकी पहिरो र डुबानमा परी पूर्ण क्षति भएको छ । चौरीदेउरालीमा रहेको भोलुङ सामुदायिक स्वास्थ्य इकाई र पोखरीचौरी स्वास्थ्य चौकीको पर्खालहरू भत्किएको छ । भुम्लु गाउँपालिका–३ मा रहेको बेखसिम्ले स्वास्थ्य चौकीको कम्पाउण्ड भत्किएको छ । बाढी पहिरोका कारणले देशभरका ५७ स्वास्थ्य संस्थामा सामान्य तथा पूर्णरूपमा क्षति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५२ ओटा स्वास्थ्य संस्थामा सामान्य क्षति र पाँच ओटा स्वास्थ्य संस्था पूर्णरूपमा क्षति भएको जनाएको हो ।

Exif_JPEG_420

काभ्रेपलाञ्चोक जिल्लामा ५० शैयाको मेथिनकोट अस्पताल, ५ सय शैयाको धुलिखेल अस्पताल, १५ शैयाको बनेपा अस्पताल, २ सय शैयाको शीर मेमोरियल अस्पताल, १५ शैयाको कृष्णप्रसाद अस्पताल, १५ शैयाको सदाबहार अस्पताल, १५ शैयाको सत्य साई अस्पताल, १५ शैयाको बनेपा नगरपालिकास्तरीय आधारभुत अस्पताल, पाँच शैयाको रोशी अस्पताल, पाँच शैयाको मण्डन देउपुर नपास्तरीय अस्पताल, १५ शैयाको धुसेनीशिवालय अस्पताल, १५ शैयाको सामुदायिक अस्पताल र १० शैयाको भुम्लु अस्पताल गरी १३ ओटा सरकारी र नीजिस्तरबाट सञ्चालित अस्पताल रहेका छन् । जसमध्ये पाँच ओटा अस्पतालमा फार्मेसी सञ्चालनमा छन् । मेथिनकोट प्रादेशिक अस्पतालमा चार जना विशेषज्ञ, ६२ जना स्वास्थ्यकर्मी कार्यरत छन् । जिल्लामा १ सय ४५ स्वास्थ्य संस्था रहेका छन् । जिल्लामा ६ जना स्टाफ नर्सको दरबन्दीसहित २ सय ३३ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

photo202411105kabhre (3)

अन्य

भिडियो