INSEC Online

📅 २०८३ जेष्ठ २१

डोकोमा पानी बोकेर विद्यालयमा ल्याउनुपर्ने बाध्यता, सरसफाइमा समस्या भएको गुनासो

रम्भा गाउँपालिका–१, नौगाउँस्थित जनप्रिय आधारभुत विद्यालयको कार्यालय सहयोगी भूमिका सारुले आधा घण्टाभन्दा बढी समय लगाएर तल फेदीबाट उकालो बाटो डोकोमा पानी बोकेर ल्याउनुहुन्छ । उहाँले दिनमा पाँच पटकसम्म यसैगरी असिनपसिन भएर पानी बोक्नुहुन्छ । विद्यालयमा १ सय ९ जना विद्यार्थी छन्, शिक्षक, अभिभावकलाई यसरी बोकेर ल्याइएको पानी ठिक्क हुन्छ । शौचालय लगायत अन्य सरसफाईका लागि सधैँ पानी अभाव हुने गरेको छ ।

Photo05112024Palpa

विद्यालयले पानीको सधैँ यस्तै अभाव झेल्दै आएको विद्यालयका प्रधानाध्यापक दामोदर सुवेदीले बताउनु भयो । विद्यालयमा दिनमा ६ पटकसम्म डोकेमा पानी बोकाउनुपर्ने बाध्यता भएको उहाँले बताउनु भयो । शिशु कक्षादेखी अध्ययन गर्ने विद्यार्थीहरू रहेका छन्, यहाँ सरसफाइका लागि पनि पानी छैन । विद्यालयमा कुनै स्रोत नभएको र सरोकारवाला अन्य निकायको चासो नभएका कारण खानेपानीको समस्या झेल्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो । अन्य विकल्प नभएकोले कुवाको पानी बोकेर ल्याइने गरेको पानीको शुद्धताको विषयमा पनि समस्या रहेको उहाँले बताउनु भयो ।

वर्षातको समय होस् वा हिउँद यस विद्यालयमा खानेपानीको उस्तै अभाव हुने गर्दछ । विद्यार्थीहरू साना भएका कारण पनि विद्यालयमा सबैजसोलाई बोकेरै खानेपानी पुर्‍याउनुपर्ने कार्यालय सहयोगी सारुको दैनिकी बनेको छ । यतिमात्र होइन विद्यालयका नियमित ड्युटी त छँदैछ । विद्यालयका अभिभावक विष्णु पाठकले बल्लतल्ल पिउने पानी बोकेर व्यवस्था गर्न सकिएपनि शौचालय सहित अन्य सरसफाइका लागि पानी अभाव भएको बताउनु भयो ।

विद्यालयमा खानेपानीको आपूर्ति गर्ने कुनै स्रोत नभएका कारण डोकोमै बोकेर खानेपानी पुर्‍याउनुपर्ने बाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर सिंजालीले बताउनु भयो । ‘विद्यालयमा खानेपानी अभाव भएको धेरै भयो । यहाँका स्थानीय सरकारले भनेको सुन्दैन । हामीसँग कुनै आफ्नै स्रोत छैन । अध्यक्ष सिंजालीले भने, विद्यार्थीको आधारभूत आवश्यकता पुरा हामी अप्ठ्यारो गरी भए पनि पुरा गरेका छौँ’ – उहाँले भन्नुभयो ।

Photo05112024Palpa1

Photo05112024Palpa2

अन्य

भिडियो