घरको आर्थिक अवस्था निकै कमजोर भएर उपचार हुन नसकेका सिमकोट गाउँपालिका–२, ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा विगत चार वर्षदेखि गोठमा बस्न बाध्य हुनुभएको छ । आँखा नदेख्ने र हिँड्डुल गर्न नसक्ने अवस्थाका बिरामी बोहरा चार वर्षदेखि गोठमा बस्नु पर्ने बाध्यता भएको हो ।
घरपरिवारले बिरामी बोहराको उपचारमा खासै चासो नराखेपछि गोठमा बस्नुपर्ने बाध्यता रहेको पीडित बोहराले गुनासो गर्नुभयो । बिरामीका दाई रामबहादुुर बोहराले आँखा नदेख्ने र छारे रोगको कारण शरीर काम्ने भएको कारण हिँड्डुल गर्न नसक्ने भएपछि गोठमा राख्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।
पहिले पुरानो घर हुँदा परिवारका सदस्यसँगै बस्ने गरे पनि नयाँ घर निर्माण गरेपछि स्थानीय प्रविधिबाट निर्माण गरिएको भर्याङ चढ्न नसक्ने भएपछि बिरामी भाइलाई गोठमै राख्ने गरिएको उहाँको भनाइ छ ।
बिरामीले जन्मदेखि आँखा नदेख्ने र त्यसमाथि नौ दश वर्षको उमेरबाट छारे रोग लागेकाले बिरामीको अवस्था खराव भएको पारिवारिक स्रोतको भनाइ छ । बिरामी सधैँ कराउने गरेका कारण घरपरिवारले गोठमै राख्ने गरेको बिरामीका दाई बोहराले बताउनु भयो । जिल्ला अस्पतालमा एक पटक उपचारका लागि लगिएको जानकारी दिँदै उहाँले त्यसबाट बिरामीको उपचार सञ्चो हुन नसकेपछि घरमै राख्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।
जिल्ला बाहिर आर्थिक अभावको कारण थप उपचारका लागि लग्न नसकिएको बोहराले गुनासो गर्नुभयो । बिरामीलाई परिवारका सदस्यहरूले खाना पकाएर गोठमै दिने गरेका छन् । बोल्न पनि नसक्ने बिरामी बोहरा दिसा–पिसाव पनि गोठमै गर्नुपर्ने बाध्यता छ ।
यस्तो अवस्था भए पनि बिरामीका दाइ बोहराले थप उपचारका लागि आर्थिक सहयोग जुटाइदिन सबै निकाय र व्यक्तिगत रूपमा सहयोगको लागि आग्रह गरेपनि हालसम्म कोही कसैले सहयोग नगरेपछि भाइको अवस्था दैनिक दिन गम्भीर बन्दै गएको गुनासो गर्नुभयो ।