जिल्लास्तरीय अस्पताल चार जनाको भारमा मात्रै भनेर झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर, हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताल अहिले दरबन्दीका चारजनाको भरमा सञ्चालित छ । १५ शैयाको उक्त जिल्ला अस्पतालमा १८ जनाको दरबन्दी रहेको भए पनि दरवन्दीका चार जना मात्रै हाल अस्पतालमा कार्यरत छन् ।
मुक्तिनाथ, दामोदर कुण्ड, उपल्लो मुस्ताङको लोमन्थाङ र कोरला भ्रमणका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको घुँइचो लाग्ने मुस्ताङको जिल्ला अस्पताल चार जनाको मात्रै भरमा छ । १८ जनाको दरबन्दी रहेको उक्त अस्पतालमा आठौं तहका निमित्त मेडिकल सुपरिटेण्डेण्ट सहित दुई जना डाक्टर, एक जना डार्करुम अधिकृत र एक जना स्टाफ नर्स मात्रै कार्यरत रहेका मुस्ताङ अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले जानकारी दिनु भयो ।

अस्पतालमा प्रशासन तर्फ पाँचौं÷छैठौँ तहको अधिकृतको दरवन्दी रहे पनि त्यो खाली छ । त्यस्तै गरी स्टाफनर्स एक, अहेब तीन, अनमी दुई, ल्याब टेक्नीसियन एक र कार्यालय सहयोगी ६ जना दरबन्दीका कर्मचारीहरूको पद रिक्त छ । दरबन्दीको कर्मचारी नहुँदा अस्पतालमा सेवा दिनका लागि निकै समस्या हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.तेजस नेपालले बताउनु भयो । दरबन्दीका कर्मचारी नहुँदा करार तर्फबाट केही कर्मचारीहरू नियुक्त गरेर सेवा दिने प्रयास गरिएको भए पनि दरबन्दीमा रहेका कर्मचारी अस्पतालमा नहुँदा भने समस्या हुने उहाँको भनाई छ ।
चिसोले गर्दा बिरामी धेरै पर्ने र भ्रमणमा आउने अन्यत्रका पर्यटकहरू पनि बिरामी परिरहने समस्या र हवाइ तथा सडक मार्ग पनि सहज नहुँदा बिरामीले सास्ती व्यहोर्ने गरेको जोमसोम प्राइड होटलका सञ्चालक अमृत सुवेदीले गुनासो गर्नु भयो ।
उहाँका अनुसार मुस्ताङमा सिजनको समयमा दैनिक ४ हजारदेखि ५ हजारसम्म पर्यटकहरू भित्रने र त्यो समयमा बिरामी हुनेहरू पनि बढ्ने भएकाले अस्पतालमा कर्मचारी तथा स्वास्थ्यकर्मी नहुँदा समस्या हुन्छ ।