कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको सङ्क्रमण बढ्दो पाइएको छ ।
जापानीज इन्सेफ्लाइटिसका कारण उदयपुरमा एक जना बालकको मृत्यु भएसँगै कोशी प्रदेशका विभिन्न जिल्लामा जापानीज इन्सेफ्लाइटिसले थप जोखिम बढाएको छ ।
प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको सङ्क्रमण बढ्दो र जापानीज इन्सेफ्लाइटिसले मृत्यु भएपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा ०८१ साउनयता डेङ्गी सङ्क्रमितको सङ्ख्या ८ सय ३० जना पुगेको छ । जिल्लामा ९ हजार ४ सय ९५ जनाले डेङ्गी परीक्षण गराएकोमा ८ सय ३० जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निर्देशक रामकुमार लामाले बताउनु भयो । वर्षासकिए पनि जिल्लामा डेङ्गीको जोखिम उत्तिकै रहेको निर्देशक लामाले बताउनु भयो । जिल्लाका १७ ओटा स्थानीय तहमध्ये सबै भन्दा बढी लेटाङ नगरपालिकामा ३ सय १३ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । विराटनगर महानगरपालिकामा २ सय ६४ जना, पथरी शनिश्चरे नगरपालिकामा २ सय १९ जना र मिक्लाजुङ गाउँपालिकामा २४ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा लामखुट्टेकै टोकाइबाट सर्ने जापानीज इन्सेफलाइटिसका बिरामी पनि भेटिएका छन् । मोरङमा दुई जना जापानीज इन्सेफलाइसिटसका बिरामी फेला परेको स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशले जनाएको छ । जापानीज इन्सेफलाइटिसको उपचार महँगो हुँदा विरामीको उपचारमा समस्या भएको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । ०८१ साउनदेखियता कात्तिक दोस्रो सातासम्म ९९ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विनोद पोखरेलले कात्तिक १३ गतेसम्म ९९ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको बताउनु भयो । डेङ्गी सङ्क्रमण पुष्टि हुनेमा ५३ जना पुरुष र ४६ जना महिला छन् । जिल्लामा जापानीज इन्सेफ्लाइटिसका बिरामी भेटिएका छैनन् । सङ्क्रमित नरहे पनि जोखिम उच्च रहेकोले यसबाट बच्नेबारे सावधानी अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । जापानीज इन्सेफ्लाइटिस क्युलेक्स जातका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने सरूवा रोग रहेको र यसको संक्रमणबाट बच्न लामखुट्टेको टोकाईबाट बच्न तथा सरसफाईमा विशेष ध्यान दिन जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका सूचना अधिकारी पोखरेलले आग्रह गर्नुभयो । मानिसबाट मानिसमा नसर्ने यो रोग लामखुट्टेले हाँस, घोडा, सुँगुर, बहुर जस्ता पशुपन्क्षीलाई टोके पश्चात् मान्छेलाई टोक्दा लाग्ने गर्दछ । क्युलेक्स जातको लामखुट्टे विशेष गरेर हिलो भएको ठाउँ र खेतबारीमा बढी हुने गरेको जनाइएको छ । जिल्ला अस्पताल रूम्जाटार र ओखलढुङ्गा सामुदायिक अस्पताल र रानीवन स्वास्थ्य केन्द्रमा डेङ्गीको परीक्षण हुदै आएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसारका जिल्लामा तत्काल जापानीज इन्सेफ्लाइटिस सङ्क्रमित बिरामी नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोशी प्रदेशका विभिन्न जिल्लामा जापानीज इन्सेफ्लाइटिस रोग सङ्क्रमणको जोखिम उच्च रहेको भएपनि जिल्लामा ०८१ कात्तिक दोस्रो सातासम्म यसका बिरामी फेला नपरेको स्वास्थ्य कार्यालयका प्रमुख राजुकुमार श्रेष्ठले बताउनु भयो । साउनदेखि कात्तिकसम्म जापानीज इन्सेफ्लाइटिसको सङ्क्रमण बढी हुने प्रमुख श्रेष्ठले बताउनु भयो । ‘यो ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फूल पार्ने समय भएकाले सङ्क्रमणको जोखिम अझै पनि कायम रहेको श्रेष्ठको भनाइ छ । लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर मानिसलाई टोकेमा यो रोग सर्ने चिकित्सकहरूले बताएका छन् । जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या भन बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । ०८१ वैशाखयता तीव्र रूपमा फैलिएको डेङ्गी सङ्क्रमितको सङ्ख्या ०८१ कात्तिक दोस्रो सातासम्म १ सय ३९ जनामा देखिएको छ । जिल्लामा डेङ्गीका कारण मृत्युको सङ्ख्या शूण्य छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा स्क्रब टाइफस र डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्को छ । जिल्लामा स्क्रब टाइफस र डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेको हो । ३ सय ५४ जनामा स्क्रब टाइफस र डेङ्गीका १ सय ४८ जना सङ्क्रमित भेटिएका छन् । ०८१ वैशाखयता क्रब टाइफस सङ्क्रमित ३ सय ५४ जना र डेङ्गीका १ सय ४८ जना सङ्क्रमित भेटिएको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताउनु भयो । जिल्लामा ०८१ कात्तिक दोस्रो सातासम्म जापानीज इन्सेफ्लाइटिसको सङ्ख्या शूण्य रहेको सूचना अधिकारी खत्रीले बताउनु भयो । स्क्रब टाइफस र डेङ्गीका कारण जिल्लामा मृत्यु हुनेको सङ्ख्या समेत शुण्य छ ।
जिल्लामा स्क्रब टाइफस र डेङ्गी सङ्क्रमितको सङ्ख्या वृद्धि भएपछि केही समय परीक्षण किटको अभाव थियो । हाल जिल्लामा स्क्रब टाइफस परीक्षण किट १ सय थान मौज्दात रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । डेङ्गी परीक्षण गर्ने किट १ सय ५० थान रहेका कारण तिहार तथा छठ पर्वमा अभाव हुने देखिएको छ । मुख्यगरी एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा स्क्रब टाइफस रोग लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिने हुन्छ ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार चिसो बढेसँगै सोलुखुम्बुमा ज्वरो रुघा खोकी लगायतका बिरामी बढ्न थालेका छन् । उच्च हिमाली भेगहरूका साथै जिल्लाको तल्लो क्षेत्रमा पनि ज्वरो रुघा, खोकी लगायतका बिरामी बढेको जनाइएको छ । जिल्ला अस्पताल फाप्लुमा दैनिक औसतमा ५० बिरामी यस्तो समस्याका आउने गरेका जिल्ला अस्पताल फाप्लुले जनाएको छ । अस्पतालमा उपचार गर्न आउने बिरामीहरूले पालो समेत नपाउने ल्हाक्पा शेर्पा बताउँछन् । सामान्य रुघाखोकीको उपचार गर्न जाँदा पालो कुनुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर प्रशान्त शाहका अनुसार गत मगलबार १ सय जना बिरामी रुघाखोकीको समस्या लिएर अस्पताल पुगेका थिए । त्यस यता दैनिक ५० देखी ६० बिरामीहरू अस्पतालमा यस्तो समस्या लिएर आउने गरेको उहाँको भनाई छ । चिसो मौसम सुरु भएकाले यतिखेर चिसोबाट हुने समस्याहरूबाट बच्नुपर्ने डाक्टरहरूको सुझाव छ । विशेष गरि रुघाखोकी, निमोनिया लगायतका समस्याले ग्रसित गराउने हुँदा तातो न्यानो भएर बस्न डाक्टरले अनुरोध गरेका छन् । यस्तै थुलुङ दुधकोशी अस्पतालमा पनि चिसोजन्य रोगका बिरामी बढेका छन् । पालिका अस्पतालमा दैनिक ५ जना बढी बाल बच्चा लगायत बिरामीहरू चिसोजन्य समस्या लिएर आउने गरेको थुलुङ दुधकोशी अस्पतालका डाक्टर अजय चौधरीले बताउनुभयो । यस्तै चिसो बढेपछि दमको समस्या भएका बिरामीहरू पनि बढेको उहाँको भनाई छ । चिसोमा दमको समस्या भएका बिरामीहरूले ख्याल गर्नुपर्ने भएपनि चेतनाको कमीले गर्दा कम ख्याल गर्ने समस्या आउने करण दैनिक दम बल्झिने बिरामीहरू बढिरहेको डाक्टर चौधरीले बताउनुभयो । उहाँले चिसो मौसममा दम, रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या निम्तिने भएकाले विशेष हेरचाह गर्न पनि अनुरोध गर्नुभएको छ ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्लामा जापानीज इन्सेफ्लाइटिस रोगबाट एक जनाको मृत्यु भएको छ । अर्का एकको उपचार भइरहेको छ । ०८१ साउनदेखि विराट मेडिकल कलेज विराटनगरमा उपचार गराइरहेका त्रियुगा नगरपालिका–३ मोतीगडाका ११ वर्षीय बालक अनमोल राईको उपचारकै क्रममा ०८१ कात्तिक ५ गते ज्यान गएको हो । सेतो लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ । जापानीज इन्सेफ्लाटिस रोग सङ्क्रमित बेलका नगरपालिका–६ का १४ वर्षीय अर्का एक बालक सायल राईको उपचार भइरहेको छ । जिल्लामा त्रियुगा नगरपालिकाले डेङ्गीका बारेमा स्थानीयलाई सचेत तुल्याउँदै ‘खोज र नष्ट गर’ अभियान थालनी गरेको छ । जिल्लामा डेङ्गी सङ्क्रमितका बिरामी बढ्न थालेपछि नगरपालिकाले खोज र नष्ट गर अभियान थालनी गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई जानकारी गराउदै डेङ्गीको व्यवस्थापन र नियन्त्रण अभियान सञ्चालनका लागि निर्देशन दिइएको नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो । डेङ्गी सङक्रमण रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि सरोकारवालासँग समन्वय गरी जनस्तरसम्म सचेतनाका क्रियाकलाप गरी लामखुट्टेको बासस्थान र फूलपार्ने ठाउँ खोजी गरी लार्भा नष्ट गर्न खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लामा ०८१ साउनयता २० जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । गत वर्ष जिल्लामा ६३ जनामा डेङ्गीको सङ्कमण देखिएको जिल्ला स्वास्थ कार्यालयका प्रमुख जीवन चम्लगाईले वताउनु भयो । ०८१ कात्तिक महिनामा एक जनामा डेङ्गीको सङ्क्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा ०८१ साउनयता १७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा छ ओटा स्थानीय तहमध्ये फेदाप गाउँपालिकामा मात्र डेङ्गी देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी सुहाङ झाले बताउनु भयो । महामारीको अवस्था नआए पनि जिल्लामा डेङ्गी परीक्षण किटको समस्या रहेको छ । ०८१ कात्तिक दोस्रो सातासम्म १ हजार ५ सय ओटा किट जिल्ला अस्पताललाई वितरण गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ दाहालले बताउनु भयो । प्रदेश स्वास्थ्य निर्देशनालयसँग १ सय थान किट माग गरिएको भएपनि किट प्राप्त नभएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी दाहालको भनाइ छ । जिल्ला अस्पतालका सूचना अधिकारी महेन्द्रकुमारी खड्काले डेङ्गीको उपचारपछि केहीलाई घर पठाएको र ज्वरोलगायतले समस्या हुनेहरूलाई अस्पतालमा भर्ना गरी उपचार गर्दै आएको बताउनु भएको छ ।
इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लामा डेङ्गीको त्रास भने कायमै रहेको पाइएको छ । अहिले पनि अस्पताल आएकाहरुमा डेङ्गी संक्रमण देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । सदरमुकामस्थित इलाम अस्पतालमा पनि कात्तिक महिना शुरु भएयता तीन जनामा डेङ्गी देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालको तथ्याकं अनुसार गएको ०८१ साउनयता १९ जनामा डेङ्गीको संक्रमण देखिएको छ भने ११ जनामा स्कप टाइफस देखिएको बताइएको छ । अस्पताल आएका कतिपय बिरामी जिल्लामै उपचार गरेर घर फर्कने गरेका छन् भने कतिपय झापाका अस्पतालमा रेफर गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडा बताउनुभयो । जिल्लाका अन्य पालिकाहरुमा पनि फाटफुट रुपमा डेङ्गुका विरामी भेटिने गरेको स्वास्थ्य कार्यालयका प्रवक्ता बिमल बरालले जानकारी दिनुभयो । बरालका अनुसार अहिले सदरमुकाममा डेङ्गु नियन्त्रणको खास कार्यक्रम नभएपनि पालिकाहरुमा भने खोज र नष्ट गर अभियान स्थानीयहरुले गरिरहेका छन् ।
‘अझै पनि डेङ्गुको त्रास कायमै छ । जताततै पानी जम्मा भएको स्थानको सरसफाइमा ध्यान पुर्याउनै पर्छ ।’ प्रवक्ता बरालले भन्नुभयो, ‘चिसो शुरुभएपनि लामखुट्टे भने अझै रहेको छ । झुल लगाएर सुुत्ने, लामखुट्टेका लार्भाहरु मार्ने काममा सबैले ध्यान दिन आवश्यक छ ।
त्यसैगरी लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण छिमेकी जिल्ला झापामा धेरै देखिएपनि इलाममा फेला नपरेको पाईएको छ । धानखेती र बङ्गुरपालन भएको क्षेत्रमा यो रोगको सङ्क्रमणको जोखिम बढी हुन्छ । विशेषगरी क्युलेस जातको लामखुट्टे ‘सेतो लामखुट्टे’को टोकाइबाट यो रोग फैलिने गर्दछ । यो रोगको सङ्क्रमणको जोखिम साउनदेखि कात्तिक महिनासम्म रहने भएकोले गत भदौमा स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो । विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले भदौ १५ गतेदेखि असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस रोग सङ्क्रमणको जोखिम उच्च रहेको बताउनुभएको थियो । तर छिमेकी जिल्ला झापामा कात्तिक दोस्रो साता सुरु भइसक्दा पनि इन्सेफ्लाइटिसको सङ्क्रमण रोकिएको छैन ।
इन्सेफ्लाइटिस सङ्क्रमणमा परेकाहरुले महँगो उपचार गर्नुपरेको भन्दै सरकारले नै सङ्क्रामक रोगको उपचार गरिदिने व्यवस्था गर्नुपर्ने आवाज उठ्न थालेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लिन र लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। सुरेश मेहताले बताउनुभयो । यो रोगको सङ्क्रमण हुँदा बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता लक्षण देखिन्छ । यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुँगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाएर रोकथाम गर्न सकिनेछ ।