रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैङ्क) नहुँदा चौतारा अस्पतालमा सुत्केरी हुन आउने सेवाग्राहीलाई समस्या भएको छ । जिल्लामा आवश्यक रगत सङ्कलन गरी सुरक्षित रुपमा राख्ने ब्लड बैङ्क छैन, जसका कारण चाहिएको अवस्थामा अप्रेशन गरी सुत्केरी गराउनु पर्ने महिलाहरुलाई रगत उपलब्ध हुन नसक्दा समस्या भएको छ ।
जिल्ला सदरमुकाम चौतारामा ५० शैयाको अस्पतालमा रगतको लागि दाताको भर पर्नुपर्ने एक मात्र विकल्प रहेको छ । अस्पतालमा आवश्यक परेको समयमा चाहिएको समूहको रगत भएका ब्यक्तिलाई फोन सम्पर्क गरेर बिरामीलाई रगत दिन गुहार गर्नुपर्ने बाध्यता रहेको चौतारा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्रमणी भण्डारीले बताउनु भयो ।
इन्द्रावती गाउँपालिका-१ सिंपालकाभ्रेकी २३ वर्षीया रुपवती तमाङ चौतारा अस्पतालमा सुत्केरी ब्यथा लागेर आउनुभएको थियो । चिकित्सकले उहाँको आफन्तलाई रगत अभाव छ, रगतको खोजी गर्न भन्नु भयो । बिरामीका आफन्त रगतको खोजीमा जुटे । तर, उहाँले रतग कतै भेटाएनन् । पछि उहाँलाई चौतारा साँगाचोकगढी नपा-७ घरभएकी एक जना शिक्षिकाले रगत दिनु भयो र उहाँको अप्रेशन सफल भयो ।
त्यसैगरी चौतारा साँगाचोकगढी नपा-१ की २७ वर्षीया पार्वती नेपाली चौतारा अस्पतालमा सुत्केरी ब्यथाले छट्पटाइ रहनुभएको थियो । उहाँलाई पनि रगतको आवश्यकता भएकोले आफन्तले सबैतिर हारगुहार गरे रगत पाउन सकेनन् । पछि अस्पतालका चिकित्सकको अनुरोधमा नेपाली सेनाका एक जवानले रगत दिएपछि पार्वतीको ज्यान बचेको अस्पतालका चिकित्सक अमरदिप शाहाले बताउनु भयो ।
अस्पतालमा सेवा लिन आएका कतिपय बिरामीहरूलाई रगतको अभाव छ भन्दै सार्वजनिक सूचना समेत गर्नुपर्ने अवस्था छ । जिल्लामा रक्तसञ्चार सेवा केन्द्र नहुँदा बिरामी र उनीहरूका आफन्तले सास्ती भोग्नुपरेको छ । चौतारा अस्पतालमा ब्लड बैङ्क स्थापना गर्ने विषय पटक पटक सरोकारवालाहरूबिच बैठक र छलफल हुन्छ तर पटकपटक गरिएको छलफलको प्रयास सफल भएको छैन ।
‘उपचारका लागि बिरामीहरू अस्पताल आउँछन्, उनीहरूलाई रगत चाहियो भने बिरामी र बिरामीका आफन्तले अर्को तनाव व्यहोर्नुपर्ने अवस्था भएको चौतारा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट रुद्रमणी भण्डारीले बताउनु भयो । यसको अन्त्यका लागि ब्लड बैङ्क स्थापनाको विकल्प नभएको र ब्लड बैङ्क स्थापनाको लागि नेपाल रेडक्रस लगायतका अन्य सरोकारवाला निकायहरूले चासो दिनुपर्ने डा. भण्डारीले बताउनु भयो ।