जिल्ला अस्पताल, दार्चुलामा दुई वर्षदेखि बालरोग विशेषज्ञ चिकित्सक नहुँदा बिरामीलाई समस्या भएको छ । दुर्गम क्षेत्रमा डाक्टर आउन नखोजेकै कारण जिल्ला अस्पतालमा बालरोग विशेषज्ञ डाक्टरको अभाव भएको हो ।
जिल्ला अस्पतालमा थुप्रै बालबालिका बिरामी भएर आउने गरेका छन्, जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले भन्नुभयो, तर, हामीसँग विशेषज्ञ चिकित्सक अभाव छ । मेडिकल अधिकृतहरु भए पनि विशेषज्ञ डाक्टर नहुँदा बालबालिकाहरुको उपचार तथा चेकजाँच गर्न समस्या छ ।
दुई वर्ष अघिसम्म जिल्लामा बालरोग विशेषज्ञ हुँदा बालबालिकाले राम्रो र सस्तो उपचार पाएका थिए । बिरामी बालबालिकालाई अस्पताल लैजाँदा अरु डाक्टरलाई देखाएर ल्याउनु पर्ने बाध्यता रहेको दुहुँ गाउँपालिका–५ का वीरमान टमट्टाले गुनासो गर्नु भयो । नातीको उपचारको लागि अस्पताल पुगेको थिए । यहाँ विशेषज्ञ चिकित्सक रहेनछन् । धेरैले भारतको अस्पताल जान सुझाव दिए उहाँले भन्नुभयो, तर, आर्थिक समस्याका कारण राम्रो उपचार गराउन पाएन् । अहिले जेनतेन बिरामी निको भएर घर फर्काएको छु ।
यस जिल्लामा सीमा जोडिएका कारण आर्थिक अवस्था राम्रो भएका परिवारले बालरोगको उपचारको लागि भारतको पिथौरागढ लिने गरेका छन् । जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नभएपछि यस जिल्लाका अधिकांश बिरामी भारतको पिथौरागढ नजिक हुने भएको हुँदा त्यहाँ जाने गरेको स्थानीय बताउँछन् ।
गत वर्ष बालरोग विशेषज्ञ डाक्टरको लागि सूचना आह्वान गरे पनि सम्पर्कमै कोहि नआएको जिल्ला अस्पताल, दार्चुलाका प्रशासन फाट हेँर्दै आउनुभएका धनन्जय मिश्रले बताउनु भयो । उहाँले भन्नुभयो, सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत डाक्टर राख्ने गरेका छौंँ । गत वर्ष दुई पटक सूचना आह्वान गर्दा पनि बालरोग विशेषज्ञ कोही आएनन् । यसअघि जिल्लामा अच्युत पौडेल बालरोग विशेषज्ञको रुपमा कार्यरत थिए । यो वर्ष पनि बालरोग विशेषज्ञ डाक्टरको लागि सूचना आह्वान गरिएको उहाँले बताउनु भयो । अहिलेसम्म योपटक पनि कोही आएका छैनन् ।
अस्पतालमा अहिले मेडिकल अधिकृतको रुपमा सञ्जीव श्रेष्ठ हुनुहुन्छ । जिल्ला अस्पतालमा स्थापनाकालदेखि नै मेडिकल सुपरिडेन्टको दरबन्दी रिक्त छ । अस्पतालमा तीन जना छात्रबृत्ति करारका डाक्टर कार्यरत छन् । जिल्ला अस्पतालमा प्रदेश सरकारले हाडजोर्नी विशेषज्ञ डाक्टर प्रल्लाद थापा पठाएको छ ।
जिल्ला अस्पताल, दार्चुलाका प्रमुख सञ्जीव श्रेष्ठले विशेषज्ञ डाक्टरको लागि माग गरे पनि अहिलेसम्म पदपूर्ति नभएको बताउनु भयो । विशेषज्ञ डाक्टर खोजी भइरहेको छ । पहाडी जिल्लामा हाडजोर्नी, बालबालिकासम्बन्धी बिरामी बढि आउने गरेका छन् । बालरोग विशेषज्ञ चिकित्सक पदपुर्तिका लागि ०८१ कात्तिक २१ गतेसम्म सूचनाको म्याद रहेकोले कसैले आवेदन दिएमा छिट्टै पदपूर्ति गरिने उहाँले बताउनु भयो ।