भोटेकोशी गाउँपालिका-२ मा रहेको लिपिङ-कोदारी जोड्ने पुल असोज महिनामा आएको अविरल वर्षापछिको बाढीले बगाएपछि त्यसभेगका नागरिकहरू आवतजावत गर्न तुइन प्रयोग गर्न बाध्य भएका छन् ।
गत असोज महिनामा आएको अविरल वर्षाले आवतजावत गर्ने पुल बगाएपछि आवतजावत गर्न हाललाई तुइनको प्रयोग भएको भोटेकोशी गाउँपालिका-२ का वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनु भयो । अविरल वर्षापछि आएको बाढीले भोटेकोशी गाउँपालिका भित्र रहेको दुई ओटा पक्की पुल र दुई ओटा बेलिब्रिज पुल बगाएको थियो ।
भोटेकोशी गाउँपालिका-३ मा रहेको लार्चा पुल भोटेकोशी नदीमा आएको बाढीले बगाएको थियो । उक्त पुल बगाएपछि खोलामाथि हिमपाइप राखेर असोज २२ गतेदेखि सवारी साधान आवतजावत सुचारु गरेको भएता पनि लिपिङ-कोदारी जोड्ने पुल नबन्दासम्म तुइन कै भर पर्नुपर्ने बाध्यता रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
जिल्लामा रहेका १२ ओटा स्थानीय तहमध्ये सरकारले भोटेकोशी, जुगल, पाँचपोखरी, बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकालाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा समेत गरेको छ ।