मुगुका अधिकांश महिलामा पाठेघरको समस्या बढ्ने गरेको छ । पर्याप्त पोषणयुक्त खानाको अभावले पाठेघर खस्ने समस्या देखिने गरेको हो । प्रजनन् अङ्ग परिपक्क नहुँदै आमा बन्ने, गर्भवती र सुत्केरी अवस्थामा पनि शरीरलाई भार हुने गरी काम गर्नुपर्ने भएकाले पाठेघरको समस्या बढी देखिने गरेको हो ।
जिल्ला अस्पताल मुगुको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष ०८०/८१ मा जिल्लाको चार ओटा स्थानीय तह र जिल्ला अस्पताल मुगुमा पाठेघरसम्बन्धी परीक्षण गर्दा कुल १ हजार ७ सय २१ जना महिला पाठेघर समस्याबाट पीडित रहेको छ ।
जिल्ला अस्पतालकी नर्सिङ सहायक मनिषा लामिछानेका अनुसार छायानाथ रारा नगरपालिकामा प्रोल्याप्स स्क्रिनमा ३ सय २७ जना, फिस्टुला स्क्रिनमा २ सय ८२ जना, खत्याड गाउँपालिकामा प्रोल्याप्स स्क्रिनमा १ सय ८३ जना र फिस्टुला स्क्रिनमा १ सय ४५ जना महिलामा पाठेघरको समस्या देखिएको छ ।
यस्तै मुगुम कार्मारोङ गाउँपालिकामा प्रोल्याप्स स्क्रिनमा १ सय ४ जना, फिस्टुला स्क्रिनमा १ सय ४ जना र जिल्ला अस्पतालमा प्रोल्याप्स स्क्रिनमा २ सय ५३ जना, फिस्टुला स्क्रिन २ सय ४८ जना महिला पाठेघरबाट पीडित छन् नर्सिङ सहायक लामिछानेले भन्नुभयो । जिल्लामा सबैभन्दा बढी ३० देखि ४० वर्ष उमेर समूहका महिलाको पाठेघरसम्बन्धी समस्या बढी रहेको पाइएको छ । तर स्वास्थ्य संस्थामा खुलेर आफ्ना समस्या राख्ने गरेको नपाइएको नर्सिङ सहायक लामिछानेको भनाइ छ ।
छायानाथ रारा नगरपालिका–१२ की स्थानीय जुनरुपा विकको पाठेघरसम्बन्धी समस्या छ । विकले सुत्केरी अवस्थामा राम्रोसँग आराम गर्न नपाउँदा पाठेघरमा समस्या देखिएको बताउनु भयो । उहाँले पाठेघरको शल्यक्रिया गर्दा घरमा काम गर्दा गाह्रो हुने भएकाले ‘रिङ प्रेसरी’ को वैकल्पिक उपचार गर्दै आएको बताउनु भयो ।
जनस्वास्थ्यकर्मी किशोर मल्लका अनुसार जिल्लामा पाठेघरबाट ग्रसित महिला दिनप्रतिदिन बढ्दै गए पनि ग्रामीण भेगका महिलालाई यो रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ । जिल्ला अस्पतालका डा. निर्मल शिवाकोटीका अनुसार जिल्लामा किशोरी अवस्थामा आमा बन्ने र सुत्केरी भएको तीन/चार दिनमै खेतबारीको काममा खटिने भएका धेरै महिलामा पाठेघरसम्बन्धी समस्या निम्तिएको हो । उहाँले पाठेघरको समस्या भएकालाई जिल्ला अस्पतालले पाठेघरमा ‘रिङ प्रेसरी’ को माध्यमबाट वैकल्पिक सामान्य उपचार दिँदै आएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘रिङ प्रेसरी पाठेघरमा राखेका महिलाले जिल्ला अस्पतालमा आइ तीन/तीन महिनाको अन्तरालमा ‘रिङ प्रेसरी’ सफा गरी पुनः पाठेघरमा राख्नु पर्छ । मुगाली महिलामा पाठेघर खस्ने समस्याले भयावह रुप लिँदासमेत यसको न्यूनीकरणका लागि जिल्लाका सम्बन्धित निकायको खासै चासो देखिँदैन ।’