INSEC Online

📅 २०८३ जेष्ठ २१

समस्यै समस्यामा जिल्ला अस्पताल, स्वास्थ्य सेवाबाट सेवाग्राही वञ्चित

कोशी प्रदेशमा रहेका जिल्ला अस्पतालमा स्वास्थ्य उपकरणदेखि स्तरन्नोतिमा समस्यै समस्या रहेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

जिल्ला अस्पतालमा विविध खाले समस्याका कारण सेवाग्राही स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनु परेको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्ला अस्पतालको एक्सरे मेसिनमा समस्या आउँदा जिल्ला अस्पतालमा एक्सरे सेवा बन्द भएको छ । एक्सरे मेसिनमा ०८१ असार महिनामा चट्याङको कारण समस्या आउँदा सेवा प्रवाह बन्द भएको हो ।

अस्पतालमा रहेको अक्सिजन प्लाट समेत विग्रिएकोले सेवामा समस्या भएको जिल्ला अस्पताल रूम्जाटारका प्रमुख डाक्टर अनिलकुमार साहले बताउनु भयो । ल्याब सेवाको लागि अस्पतालमा ब्याट्री व्याकप नहुँदा समस्या भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा सोडिएम पोटासिएम परीक्षणको लागि मेसिन नहुँदा अस्पतालमा आएका बिरामीलाई अन्यन्त्र रिफर गर्नुपर्ने बाध्यता रहेको डाक्टर अनिलकुमार साहले बताउनु भयो । हाल जिल्ला अस्पतालमा १० जना स्थायी ४० जना करार गरी ५० जना कार्यरत छन् ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्ला अस्पतालको अक्सिजन प्लान्ट दुई वर्षयता प्रयोगविहीन अवस्थामा छ ।

जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्ट बिग्रिएको र प्रयोगविहीन भएपछि बिरामीहरुले सास्ती भोग्नु परेको छ । कोभिड १९ का समयमा प्रदेश सरकारको ७२ लाख रुपियाँ लागतमा निमार्ण भएको अक्सिजन प्लान्ट ०७९ फागुन महिनायता बिग्रिएर थन्किएको छ । जसको मर्मत तर्फ न प्रदेश सरकारको ध्यान पुगेको छ, न त स्थानीय सरकारको नै । अक्सिजनकै अभावमा बिरामीलाई अन्यत्र लैजानुपरेको बिरामीका आफन्तले गुनासो गरेका छन् ।

अस्पताल प्रशासन, अस्पताल व्यवस्थापन समिति, नगरपालिकालगायतलाई यस विषयमा ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको मानव अधिकारकर्मी माया भण्डारीले बताउनु भयो । अक्सिजन प्लान्टको बिग्रिएको सामान फेर्न ७ लाख रुपियाँ लाग्ने र चीनबाट ल्याउनुपर्ने भएकाले मर्मत नगरिएको अस्पतालका प्रशासनको भनाइ छ ।

अक्सिजन प्लान्टको क्षमता थप गर्न ५० लाख रुपियाँ भन्दा बढी खर्च लाग्ने र पुरानो मर्मत गर्न समेत महङ्गो भएकाले बाहिरबाटै अक्सिजन ल्याएर काम चलाउने गरिएको अस्पतालका प्रशासन प्रमुख सुरेन्द्र पाण्डेले बताउनु भयो । पाण्डेले यातयात खर्च बाहेक प्रतिसिलिण्डर ५ सय ५० रुपियाँका दरले विराटनगरबाट ल्याउने गरिएको छ । बिग्रिनुभन्दा पहिले जिल्ला अस्पतालको प्लान्टबाट दैनिक ५-६ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको थियो ।

अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनका लागि प्रदेश सरकारलाई लेखेर पठाएकोमा आश्वासन मात्र पाएको तर असोजको अन्तिम सातासम्म काम नभएको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माले बताउनु भयो । अ

क्सिजन प्लान्ट सञ्चालन, अस्पतालको भौतिक पूर्वाधार निमार्ण र कर्मचारी व्यवस्थापनका लागि जिल्लाका सबै स्थानीय तहलाई समेत आर्थिक सहयोगका लागि अनुरोध गरिएको भएपनि कोही कसैले सहयोग नगरेको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माले बताउनु भयो । त्रियुगा नगरपालिकाले भने जिल्ला अस्पताल सञ्चालनका लागि केही आर्थिक सहयोग गर्दै आएको जिल्ला अस्पताल प्रशासनले जनाएको छ ।

इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्ला अस्पताललाई १५ वेडबाट स्तरवृद्धि गरेर ५० वेडको बनाइएको वर्षौं बितिसकेको छ । तर, अस्पतालको स्तरोन्नति कागजमा मात्र सीमित भएकाले सेवाग्राहीले प्रभावकारी स्वास्थ्य सेवा भने पाउन सकेका छैनन् । ५० वेडको अस्पताल भएपनि सेवासुविधा नहुँदा नागरिकले अस्पताल स्तरोन्नति भएको प्रत्याभूत गर्न पाएका छैनन् ।

जिल्ला अस्पतालमा डाक्टर, स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको अभाव त छ नै त्यसमा पनि भएको उपकरण र आएको स्रोत साधनको समेत उपयोग नहुँदा अस्पतालले अपेक्षित सेवा दिन सकेको छैन । थोरै स्वास्थ्य उपकरण छन् तर जनशक्तिको अभावले माकुराले जालो लगाइरहेको छ । मेसिन थन्किँदा सामान्यदेखि दीर्घ तथा घातक रोग लागेका बिरामीसम्मले उपचार पाउन सकेका छैनन् ।

जिल्लामै उपचार गराउन सक्ने बिरामीहरू प्रदेशस्तरीय तथा राजधानीका अस्पतालसम्म धाउन बाध्य हुनु परेको छ । दुई ओटा पोर्टेबल भेन्टिलेटर थन्किएका, डाइलासिसि मेसिन, पाठेघरको मुखको क्यान्सरको थेरापी गर्ने मेशिन, अक्सिजन प्लान्ट जस्ता महत्वपूर्ण उपकरण नियमित सञ्चालन नहुँदा समस्या छ । जिल्ला अस्पतालमा जनशक्ति अभावका कारण सेवाग्राहीले दुरूस्त सेवा पाउन सकेका छैनन् ।

अस्पतालको स्तरवृद्धि गरिएपछि विशेषज्ञसहित १४ जना डाक्टर र ५९ स्वास्थ्यकर्मीको दरबन्दी छ । तर, हाल स्थायी डाक्टर भने एक जना मात्र छन् । स्त्री रोग विशेषज्ञ डाक्टर प्रभू साह मात्र स्थायी दरबन्दीका डाक्टर हुन् । करार छात्रवृत्तिका सात जना डाक्टरहरु छन् । बाँकी डाक्टरको दरबन्दी खाली छ । यसरी नै २७ जना स्वास्थ्यकर्मी मात्र अहिले कार्यरत छन् । दरबन्दी अनुसारको डाक्टर र स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको अस्पतालले जनाएको छ ।

दरबन्दी अनुसार जनशक्ति माग गरेर पत्राचार गरे पनि हालसम्म जनशक्ति नपठाएको डाक्टर साहले बताउनु भएको छ । जिल्लामा तीन ओटा सरकारी अस्पताल, ४४ ओटा स्वास्थ्य चौकी र चार ओटा प्राथमिक स्वास्थ्य केन्द्र छन् ।

अन्य

भिडियो