कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन ।
कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये मोरङ, झापा र सुनसरीमा डेङ्गीको सङ्क्रमण बढी छ ।
स्वास्थ्य निर्देशनालय, धनकुटाको अभिलेख अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी मोरङमा डेङ्गीको सङ्क्रमण बढी देखिएको छ । ताप्लेजुङ जिल्लामा सङ्क्रमण पुष्टि नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । असोज २३ गतेसम्ममा मोरङमा ७ सय ३३ जना, झापामा २ सय २७ जना, सुनसरीमा २ सय २२ जना, धनकुटामा १ सय २८ जना, सङ्खुवासभामा १ सय ८ जना, भोजपुरमा ९७ र उदयपुरमा ८९ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, धनकुटाका डेङ्गी फोकल पर्सन सुरक्षा खत्रीले बताउनु भयो ।
पाँचथरमा ६४ जना, ओखलढुङ्गामा ३८ जना, खोटाङमा आठ जना, सोलुखुम्बुमा १ सय २७ जना, इलाममा पाँच र तेहृथममा दुई जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको फोकल पर्सन खत्रीले बताउनु भयो ।
कोशी प्रदेशको झापामा डेङ्गीका कारण दु्ई जनाले ज्यान गुमाउनु परेको छ । डेङ्गीको सङ्क्रमण तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय, धनकुटाले जनाएको छ । डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन आग्रह गरिएको छ ।
नेपालमा आधिकारिक रूपमा ०६३ मङ्सिरमा डेङ्गी देखिएको थियो । डेङ्गी एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस् नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्ला अस्पतालमा डेङ्गी सङ्क्रमणका विरामी बढ्न थालेका छन् । सङ्क्रमित बढ्दै गएपछि जिल्लामा डेङ्गीको परीक्षणमा समस्या आएको छ । महामारीको अवस्था नआए पनि जिल्लामा टेष्टकिट अभाव भएको छ । टेष्टकिट उपलब्ध गराउने जिम्मा स्वास्थ्य कार्यालयको भएपनि सहज रूपमा दिन नसकेको धनकुटा अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर अमिताभ ठाकुरले बताउनुभ भयो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नारायण खनालले परीक्षण किट माथिल्लो निकायमा माग गरिएको भएपनि प्राप्त हुन नसकेको बताउनु भयो । जिल्लाका सात ओटै स्थानीय तहसँग डेङ्गी नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले समन्वय गरिरहेको र र त्यसका लागि आवश्यक योजना तयार गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नारायण खनालको भनाइ छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेको छ । ०८१ वैशाखयता जिल्लामा डेङ्गी सङ्क्रिमतको सङ्ख्या १ सय २८ जना पुगेको छ । स्वास्थ्य कार्यालयको अभिलेख अनुसार जिल्लामा ०८१ वैशाखदेखि असोज २३ गतेसम्म १ सय २८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा हालसम्म डेङ्गीका कारण मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका नौ ओटा स्थानीय तहमध्ये आमचोक गाउँपालिका, पौवादुङमा गाउँपालिका र साल्पासिलिछो गाउँपालिकामा डेङ्गीका सङ्क्रमित फेला परेका छैनन् । भोजपुर नगरपालिकामा डेङ्गीको सङ्क्रमण उच्च देखिएको स्वास्थ्य कार्यालयका प्रमुख राजुकुमार श्रेष्ठले बताउनु भयो । असोज २३ गतेसम्म भोजपुर नगरपालिकामा ७२ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । षडानन्द नगरपालिकामा १३ जना, रामप्रसादराई गाउँपालिकामा २१ जना, हतुवागढी गाउँपालिकामा १४ जना, अरूण गाउँपालिकामा सात जना र टेम्केमैयुङ गाउँपालिकामा एक जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाइएको छ । डेङ्गीका बिरामीका कारण जिल्ला अस्पतालमा बिरामीको चाप बढेको जिल्ला अस्पतालका प्रमुख डाक्टर शिवजी रिजालले बताउनु भएको छ ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्लामा डेङ्गी सङ्क्रमितसँगै रूघा, खोकीलगायतका बिरामीको चाप बढेपछि वेड अभाव हुँदा बिरामीलाई प्यासेजमा राखेर उपचार गर्नुुपर्ने अवस्था छ । भाइरल ज्वरो, रूघाखोकी, डेङ्गी र अन्य रोगका बिरामी दैनिक ५ सय भन्दाबढी आउन थालेपछि अस्पतालमा वेड अभाव हुन थालेको अस्पताल प्रशासन प्रमुख सुरेन्द्र पाण्डेले बताउनु भयो । वेड अभाव भएपछि प्यासेजमा समेत राखेर बिरामीको उपचार गर्नु परेको अस्पताल प्रशासनले जनाएको छ । जिल्लामा ०८१ वैशाखयता असोज २३ गतेसम्मको अवधिमा ८९ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । डेङ्गीका कारण जिल्लामा मृत्युु नभएको जिल्ला स्वास्थ्य कार्यालयको अभिलेखमा देखिन्छ । जिल्ला अस्पतालमा वेड अभाव भएको विषयमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माले अस्पतालको क्षमता बढाइदिन सम्बन्धित निकायमा माग गरेपनि सुनुवाइ नभएको गुनासो गर्नु भएको छ । स्वास्थ्य मन्त्रालयको नियमावली अनुसार २ सय वेडसम्मको अस्पताल वृद्धिको अनुमति प्रदेश सरकारले दिनसक्ने व्यवस्था छ । सो भन्दा बढीको क्षमता वृद्धि गर्न परे सङ्घीय सरकार स्वास्थ्य मन्त्रालयको अनुमति आवश्यक पर्छ । अस्पताल व्यवस्थापन समितिका सदस्य महेश रोकाले जिल्लामा हाल ३ लाख ७८ हजार भन्दा बढी जनसङ्ख्या पुुगेकाले अस्पतालको वेड वृद्धिका लागि अनुरोध गरिएपनि सम्बन्धित निकायबाट समस्या सम्बोधन नभएको बताउनु भयो । जिल्ला अस्पतालमा खोटाङ, भोजपुरका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । ०८१ वैशाखयता र असोज २३ गतेसम्म ६० जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विनोद पोखरेलले असोज २३ गतेसम्म ६० जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको बताउनु भयो । जिल्ला अस्पताल रूम्जाटार र ओखलढुङ्गा सामुदायिक अस्पतालमा डेङ्गीको परीक्षण हुने गरेको छ । डेङ्गी परीक्षण किट अभाव नभएकाले दशैँको बेला समेत डेङ्गी परीक्षणमा समस्या नहुने सूचना अधिकारी पोखरेलको भनाइ छ । डेङ्गी सङक्रमण रोकथामका लागि मानेभन्ज्याङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाको विभिन्न क्षेत्रमा लार्भा नष्ट र विषादी छिड्काउ अभियान सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । डेङ्गी सङ्क्रमणबाट बच्न लामखुट्टेको टोकाईबाट बच्ने बारे सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले नागरिकलाई आग्रह गरेको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका जिल्लामा ०८१ साउनयता १५ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका ६ ओटा स्थानीय तहमध्ये फेदाप गाउँपालिकामा मात्र डेङ्गीको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी सुहाङ झाले बताउनु भयो । जिल्लामा हाल डेङ्गी परीक्षणका लागि किट मौज्दात नरहेकाले किटको अभाव हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ दाहालले बताउनु भयो । प्रदेश स्वास्थ्य निर्देशनालयसँग १ सय थान किट माग गरिएको भएपनि किट प्राप्त नभएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी दाहालले बताउनु भयो । जिल्ला अस्पतालका सूचना अधिकारी महेन्द्रकुमारी खड्काले डेङ्गीको उपचारपछि केहीलाई घर पठाएको र ज्वरोलगायतले समस्या हुनेहरूलाई अस्पतालमा भर्ना गरी उपचार गर्दै आएको बताउनु भयो ।
इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लामा ७ सय १५ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । ०८१ असोज १६ गतेसम्ममा ७ सय भन्दा बढीमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सूर्योदय नगरपालिका, माई नगरपालिका, चुलाचुलीगाउँपालिका, देउमाई नगरपालिकाका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिकामा सङ्क्रमण पुष्टि भएको छ । इलाम अस्पतालका डाक्टर प्रभु शाहले ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो विमिरा आउनु, वान्ता हुनु, वाकवाकी लाग्नु नै सङ्क्रमणका प्रमुख लक्षण भएकाले लामखुट्टेको टोकाइबाट बच्न आग्रह गर्नुु भएको छ । डेङ्गी एडिस एजिप्टाइ र एडिस एल्वौपेक्टस् नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो । यो भाइरस डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । डेङ्गी सङ्क्रमणले गर्दा शरीरको रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ । यो अवस्था रगतमा धेरैजसो प्लेटेलेटस् नष्ट हुनाले हुन्छ । यसको घातक रूप हुँदा सम्पूर्ण शरीरमा रक्तश्राव हुन थाल्छ । भाइरस शरीरमा प्रवेश गरेर प्लेटेलेटस्मा आक्रमण गर्छ । प्लेटेलेटस्ले शरीरमा रक्तश्राव रोक्नमा महत्वपूर्ण भूमिका खेल्छ । डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । डेङ्गी सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । यसको सङ्क्रमणबाट बच्न घरवरीपरि सफा राख्न, पानी जम्न नदिन चिकित्सकले सल्लाह दिएका छन् ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार हिमाली जिल्लामा ३० जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । मौसममा फेरबदल भएसँगै जिल्लाका विभिन्न स्थानमा डेङ्गीको जोखिम बढ्न थालेपछि डेङ्गीबाट बच्नका लागि उच्च सर्तकता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीहरूमा डेङ्गीको सङ्क्रमण देखिएपछि सावधानी अपानउन विभिन्न सचेतनाहरू गर्न थालिएको छ । जिल्ला अस्पताल फाप्लु, सोताङ प्राथामिक अस्पताल र दुधकोशी सामुदायिक अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीहरूमा डेङ्गीसँग मेल खाने लक्षणहरू देखिएको र चेक जाँचका क्रममा डेङ्गीको सङ्क्रमण देखिएपछि चिकित्सकले उच्च सावधानी अपनाउन आग्रह गरेका हुन् । सोताङ गाउँपालिकामा ०८१ साउन २३ गते एकैदिन २७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको थियो । १ सय ५० जनालाई नमूना किट परीक्षण गरिएकोमा २७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, फाप्लुका महामारी फोकल पर्सन अशोक शिवाकोटीले बताउनु भयो । १९ जना पुरूष र आठ जना महिला गरी २७ जनामा डेङ्गी पुष्टि भएको फोकल पर्सन शिवाकोटीले बताउनु भयो । जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । जसमा पुरूष २० जना र महिला १० जना रहेको फोकल पर्सन शिवाकोटीले बताउनु भयो । उक्त सङ्क्रमित व्यक्तिहरू जिल्ला बाहिर नगइ सोताङमै सङ्क्रमित भएको शिवाकोटीको भनाइ छ । विशेष गरी डेङ्गी रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । लामखुट्टेको मात्रा बढी रहेका ठाउँमा यसबाट बच्नलाई पानी जम्ने भाडाकुडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने भएकाले त्यस्ता ठाउँहरूलाई पूर्ण रूपमा विस्तापित गर्न सके केही कम हुने फोकल पर्सन शिवाकोटीको भनाइ छ ।