कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।
कोशी प्रदेशका पाँच जिल्लाका दश ओटा स्थानीय तहमा रहेका १८ ओटा विद्यालयमा बाढीपहिरोका कारण क्षति पुगेको छ । ११ ओटा आधारभूत विद्यालय र सात ओटा माध्यमिक विद्यालयमा बाढीपहिरोले क्षति पुर्याएको छ ।
कोशी प्रदेशमा पाँचथरमा ६ ओटा, मोरङमा एक ओटा, खोटाङमा एक ओटा, उदयपुरमा एक ओटा र तेहृथुममा एक ओटा गरी १० स्थानीय तहमा रहेका विद्यालयमा क्षति पुगेको छ ।
बाढीपहिरोले कतिपय विद्यालय पूर्ण रूपमा क्षति पुगेको र केही विद्यालयमा आंशिक क्षति पुगेको शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले बताउनु भयो ।
कोशी प्रदेशबाट ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनुसुनजन्य विपदका कारण ०८१ असोज १८ गतेसम्मको अवधिमा बाढीपहिरोका कारण देशभर १ सय ५० भन्दा बढी विद्यालयमा क्षति पुगेको शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले बताउनु भयो । बाढीपहिरोका कारण विद्यालयमा क्षति पुग्दा कोशी प्रदेशमा कम्तीमा २७ हजार बालबालिकाको पठनपाठनमा प्रत्यक्ष असर परेको छ ।
पाँचथर प्रतिनिधि इवारा जबेगु लिम्बूका अनुसार ०८१ असोज १० गतेदेखिको मनसुनजन्य विपद्का कारण जिल्लाका ६ ओटा स्थानीय तहमा रहेका विद्यालयमा क्षति पुर्याएको छ । फिदिम नगरपालिका लुफावाङ माध्यमिक विद्यालय, कुम्मायक गाउँपालिकाको सिंहवाहिनी आधारभूत विद्यालय, खाल्टे माध्यमिक विद्यालय, फिदिम नगरपालिकाको कालिका माध्यमिक विद्यालय, फालेलुङ गाउँपालिकाको सिंहकालिका आधारभूत विद्यालय, तुम्वेवा गाउँपालिकाको सुनगाभा आधारभूत विद्यालय, फाल्गुनन्द गाउँपालिकाको पैयाबोटे आधारभूत विद्यालय, फिदिम नगरपालिकाको युवराज आधारभूत विद्यालय र काफलबोटे आधारभूत विद्यालय, फालेलुङ गाउँपालिकाको मोतीराम माध्यमिक विद्यालय, सिंहदेवी, दीपज्योति,बाहृबिसे र मेमङ माध्यमिक विद्यालयमा क्षति पुगेको छ ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार मनसनुजन्य विपद्का कारण आएको बाढीका कारण जिल्लाको रङ्गेली नगरपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालयमा क्षति पुगेको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार मनसुनजन्य विपदका कारण कोपिलासगढी गाउँपालिकाको गङ्गाजमुना आधारभूत विद्यालयमा क्षति पुगेको छ । पहिरोका कारण विद्यालय भवन चर्किएर जीर्ण भएको छ । बाढीका कारण विद्यालय भवनमा क्षति पुगेको छ ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार रौतामाई नगरपालिकामा रहेकाे जनता माध्यमिक विद्यालयमा ०८१ असोज १० गतेदेखिको मनसुनजन्य विपद्का कारण क्षति पुगेको छ । विद्यालयको चार कोठासहितको भवनमा पूर्ण रुपमा क्षति पुगेको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा ०८१ असोज १० गतेदेखि बाढीपहिरोका कारण लालीगुराँस नगरपालिकामा रहेको महाकाली माध्यमिक विद्यालयमा क्षति पुगेको छ ।
