लगातारको वर्षाका कारण तामाकोशी गाउँपालिका–५ किर्नेस्थित सामुदायिक स्वास्थ्य संस्थाको भवनमा पूर्ण क्षति पुगेपछि स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । धुलिखेल अस्पतालको सहयोगमा सञ्चालित सामुदायिक स्वास्थ्य क्लिनिक भवनको आधा भाग पूर्ण रुपमा क्षति भएपछि स्वास्थ्य सेवा बन्द भएको हो ।
भवनको आधा भागमा क्षति पुर्याउनुको साथै क्लिनिकको स्वास्थ्य सामग्रीसमेत बगाएको तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले जानकारी दिनु भयो । भवनमा क्षति पुगेपछि क्लिनिकमा बचेको स्वास्थ्य उपकारण र औषधिहरु नजिकैको त्रिकुटेश्वर माध्यमिक विद्यालयमा सारिएको अध्यक्ष केसीले बताउनु भयो ।

यस क्लिनिकले सन् २०१२ देखि यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएको छ । सात जना जनशक्ति रहेको यस क्लिनिकबाट प्राथमिक उपचार, प्रयोगशाला, भिडियो एक्सरे, एम्बुलेन्स सेवा र सामान्य चिरफार समेतको सेवा दिँदै आएको धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रम प्रमुख दिनेश थापाले जानकारी दिनु भयो ।
भीमेश्वर नगरपालिका–२ मा सञ्चालित अस्पतालमा आएका चिकित्सकहरुले १५/१५ दिनमा यस क्लिनिकमा आएर सेवा दिने गरेको कार्यक्रम प्रमुख थापाले बताउनु भयो । यस क्लिनिकबाट दैनिक ४०/५० जना बिरामीलाई सेवा दिँदै आएकोमा अहिले सेवा रोकिएको हो ।