स्वास्थ्य संस्थामा औषधि अभावका कारण बिरामीलाई पुर्णडोजको औषधि दिन नसकिएको पातारासी गाउँपालिकास्थित छुमचौर स्वास्थ्य चौकीका प्रमुख प्रकाश सापकोटाले बताए ।
उनले भने-‘अहिले औषधि अभावका कारण १० ट्याव्लेट दिनुपर्ने बिरामीलाई २ ओटा ट्याव्लेट मात्र दिएका छौँ । गाउँपालिकामा औषधि खरिदको बजेट आएको छ भन्ने सुनिए पनि चालु आर्थिक वर्षको पहिलो चौमासिक बित्न लागि सक्दा पनि औषधि खरिद नभएकाले अभाव भएको हो।’
अहिले रुघाखोकी, झाडापखलाका बिरामीहरू प्रायजसो स्वास्थ्य संस्था आउने गरेपनि औषधि अभावका कारण कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गर्नुपर्ने बाध्यता भएको प्रमुख सापकोटाको भनाई छ ।
आइरन चक्की नभएका कारण गर्भवती महिलालाई वितरण गर्न नसकिएको उनले बताए । उनले भने-‘औषधि खरिदका लागि गाउँपालिकाले चार ओटा स्वास्थ्य संस्थाका लागि २ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । त्यसले एक/दुई महिना पनि नपुग्ने अवस्था देखिन्छ ।’
पातारासी गाउँपालिकाका स्थानीयले स्वास्थ्य संस्थामा औषधि नपाइने गुनासो गरेका छन् । स्थानीय विष्णु बुढाका अनुसार स्वास्थ्य चौकीमा आवश्यक परेको औषधि पाइँदैन । स्वास्थ्यकर्मीले औषधि लेखिदिएपछि मेडिकलमा किनेर खाने गरेको उनको भनाई छ ।
बालबालिकाका लागि झोलमा औषधि छैन
तातोपानी गाउँपालिकास्थित लाम्रा स्वास्थ्य चौकीका प्रमुख गोपाल गिरीले अबको एक महिनापछि औषधिको चरम अभाव हुने सम्भावना देखिएको बताए ।
उनले भने-‘गाउँपालिकाले औषधि खरिदको सुरसार गरेको छैन । जिल्ला स्वास्थ्य कार्यालयको स्टोरमा औषधि सकिँदै छ ।’
औषधि खरिदका लागि ५० हजार रुपियाँ मात्र बजेट विनियोजन गरेको छ । त्यसले १/२ महिना पनि पुग्ने अवस्था देखिँदैन । प्रमुख गिरीका अनुसार बालबालिकाका लागि झोल औषधि छैन । बच्चाले ट्याव्लेटमा खान नसक्ने/नमान्ने भएकाले विशेषगरी झोलमा औषधि चाहिने हो ।
स्वास्थ्य संस्थामा ३५ प्रकारका औषधि निशुल्क पाइने भनिएपनि २० प्रकारका मात्र औषधि आउने गरेको उनले बताए ।
हिमा गाउँपालिका स्थित महावैपाथरखोला स्वास्थ्य चौकीका टेक बुढाका अनुसार आइरन चक्की, एमोक्सिलन जस्ता अत्यावश्यक औषधि अभाव छ । ‘जिल्ला स्टोरमा माग गरेका छौँ ।’-उनले भने-‘अहिले स्वास्थ्य संस्थामा औषधिको अभाव नै छ ।’