INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोले मुहान बगाउँदा १ हजार ६ सय परिवारलाई खानेपानी समस्या

पहिरोले खानेपानीको मुहान बगाएपछि सूर्योदय नगरपालिका-१० फिक्कल बजारका १ हजार ६ सय परिवारलाई खानेपानीको समस्या भएको छ ।

‘कुवाको पानीले पाँच दिन टर्‍यो । अब त उपाय छैन ।’ स्थानीय होटल व्यवसायी नविना कार्कीले भन्नुभयो, ‘नगरपालिकाले वितरण गरिरहेको पानीले सबैलाई पुग्दैन । आकासे पानी धमिलो छ । रोग लाग्ने भयो ।’

नेपालको संविधानको मौलिक हकको धारा ३५ को उपधारा ४ अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइको हक हुनेछ भनि उल्लेख गरिएको भएपनि यहाँका नागरिक खानेपानीबाट वञ्चित हुनु परिरहेको छ ।

कोशी प्रदेशमा ०८१ जेठ २८ गते सुरुआत भएको मनसुन पुन ०८१ असोज १० गतेदेखि सक्रिय हुँदा भारी वर्षाका कारण पानीको मुहान क्षेत्र सूर्योदयन नगरपालिका-१ स्थित श्रीखोलामा पहिरो जाँदा ५ सय मिटर मुख्य पाइपलाइन र सडक बगाएको थियो ।

पहिरोले खानेपानीमा ४५ लाख रुपियाँ बढीको क्षति गरेको फिक्कल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष एवम् नगर उपप्रमुख दुर्गाकुमार बरालले बताउनु भयो ।

‘मुहानसम्म पुग्ने सडक बगाएको छ । सडक बनाउँन निकै रकम आवश्यक छ । पहिरोले ३० ओटा पाइप बगाएको छ । त्यहाँ नयाँ पाइप बिछ्याउन पनि नयाँ रुट खोल्नुपर्ने भयो ।’ अध्यक्ष बरालले भन्नुभयो, ‘१५ लाखको पाइप खरिद गरि मुहानमा पुर्‍याएका छौँ । निर्माण कार्य धमाधम छ । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीलगायत अन्य कामदार दिनरात खटिइरहनु भएको छ । पानी आउन अझै समय लाग्छ ।’

नगरपालिकाको केन्द्र फिक्कल बजारसहित आसपासका गाउँमा उक्त आयोजनाले खानेपानी धानेको थियो । दैनिक ५ लाख लिटर पानी खपत हुने गरेको आयोजनामा क्षति हुँदा १ हजार ४ सयमध्ये करिब १ हजार घर परिवारलाई पानीको हाहाकार भएको छ ।

खानेपानीको अभाव टार्न नगरपालिकाले तीन ओटा ट्याङ्करबाट पानी वितरण गरिरहेको मेयर रणबहादुर राईले बताउनु भयो ।

‘जतिसक्दो चाँडो आपूर्ति पुरा गर्न नगरपालिका लागिरहेको छ । खानेपानी मात्रै होइन यहाँका थुप्रै सडक भत्किएका छन् । हामी अनुगमनमा खटिइरहेका छौँ ।’ मेयर राईले भन्नुभयो, ‘नगरपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र खोलेको छ । २४ घण्टा नै सेवा उपलब्ध हुने गरी विपदको बेला हाम्रो विपद व्यवस्थापन समिति, नगर प्रहरी सबै टीम लागिरहनुभएको छ । सबै समस्यालाई चाडपर्वको बेला तत्काल समाधान गर्न हाम्रो प्रयास भरपुर छ । ’

कोशी प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदयको केन्द्र फिक्कल बजारमा दिनहुँ पर्यटकको बाक्लो चहलपहल हुन्छ । यहाँको दर्जनौ होटल व्यवसाय खानेपानी अभावमा चौपट भएका छन् ।

पर्यटकलाई होटलमा राख्न नै नसकिने अवस्था भएको होटल व्यवसायी नविन कार्कीले बताउनु भयो । ‘शौचालयमा पानी छैन । खाना पकाउने नै धौधौ छ । पर्यटक पनि दुई चार दिन नआइदिए हुन्थ्यो जस्तै लागेको छ ।’ होटल व्यवसायी कार्कीले भन्नुभयो ।

व्यवसायीहरुले स्थानीय धारो, कुवा लगायत आकासको पानी जम्मा गरेर व्यवसाय चलाइरहेका छन् ।

वर्षेनी पहिरोले श्रीखोलास्थित खानेपानीको मुहान बगाउँदा लाखौँको क्षति हुने गरेको छ । १ करोड लिटर पानी रिजर्भ हुने गरि ट्याङ्की बनाउने समितिको योजना टुङ्गोमा पुग्न बाँकी रहेको संस्थाका अध्यक्ष दुर्गाकुमार बरालको भनाइ छ ।

Photo 202401002 ilam (1)

Photo 202401002 ilam (2)

अन्य

भिडियो