गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा भिमसेन गाउँपालिका-५ बगुवामा खुकुरी प्रहारबाट भिमसेन-५ का सविन बानियाँ घाइते भएका छन् ।
गाउँपालिकाको केन्द्र बगुवा राख्ने या घ्याम्पेसाल सार्ने भन्ने विषयमा कात्तिक १९ गते साँझ विवाद बढ्दै जाँदा बगुवाका एक युवाले खुकुरी प्रहार गरी बानियाँलाई घाइते बनाएको गाउँपालिका प्रमुख इश्वर पाण्डेले बताए ।
बानियाँलाई भीडमा रहेकाहरूमध्येका एक जनाले खुकुरी प्रहार गरेको भएपनि कसले प्रहार गरेको थाहा नभएको बताइएको छ । घटनाका सम्बन्धमा कात्तिक २० गते दिउँसोसम्म प्रहरीमा उजुरी नपरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट बानियाँको हात, टाउकोमा गम्भिर चोट लागेका बानियाँलाई तत्कालै थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । गाउँसभाको कात्तिक १९ गते बसेको बैठकले गाउँपालिकाको केन्द्र बगुवाबाट मसेलमा सार्ने निर्णय गरेपछि विवाद भएको गाउँपालिका प्रमुख इश्वर पाण्डेको भनाई छ ।
केन्द्र सार्नुपर्छ र सार्नु हुन्न भन्ने विषयमा कार्यपालिका सदस्यहरू बिचमै विवाद बढेपछि माओवादी केन्द्रबाट निर्वाचित कार्यपालिका सदस्य शङ्कर बिकले निर्णय पुस्तिका नै च्यातिदिएका थिए । बगुवा क्षेत्रमा तनाव बढेपछि कात्तिक १९ गते साँझदेखि त्यस क्षेत्रमा सुरक्षकर्मी परिचालन बढाइएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ ।