कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन पुन असोज १० गतेदेखि सक्रिय भएपछि प्रकृतिजन्य विपद्का घटनामा नागरिकले ज्यान गुमाउनुका साथै विस्थापित हुनु परेको छ ।
धनकुटा, पाँचथर, झापा,संखुवासभा र मोरङमा अविरल वर्षापछिको बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार अविरल वर्षासँगै आएको पहिरोले पुरिएर धनुकटामा दुई जनाको मृत्यु ज्यान गएको छ । पाख्रीबास नगरपालिका-५ मा ०८१ असोज १२ गते बिहान खसेको पहिरोले घर पुरिदा स्थानीय ३२ वर्षीया आशा तामाङ र ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको छ । मृतक आमा छोरी भएको प्रहरीले जनाएको छ ।
पाँचथर प्रतिनिधि इवारा जबेगु लिम्बूका अनुसार फिदिममा घरमाथिबाट खसेको पहिरोले नाबालिका छोरी र आमाको मृत्यु भएको छ । पहिरोले घर पुरिएको छ । फिदिम नगरपालिका-४ चिसापानीमा पहिरोले २४ वर्षीया सपना शेर्पा र उहाँकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फिदिम नगरपालिका-१२ स्थायी घर भएका आमा-छोरी चिसापानीमा डेरा बस्दै आएका थिए । पहिरोले आदिवासी जनजाति महासंघ पाँचथरको भवन पनि पुरिएको छ । घटनास्थलमा थप उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार ०८१ असोज १० गतेदेखि अविरल वर्षासँगै आएको बाढीले जिल्लामा दुई जनालाई बगाएको छ । कचनकवल गाउँपालिक-१ मा १४ वर्षीया बालिका र कचनवल गाउँपालिका २ मा बाढीले मोटरसाइकल बगाएको ५ । असोज ११ गते कचनकवल गाउँपालिक-१ स्थित चमर भीत्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको हो । बाढीमा बेपत्ता भएकी बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । कमल गाउँपालिका-१ का ३५ वर्षीय टिकाराम चौधरीलाई कृष्ने खोलाले बगाएको छ । माछा मार्ने क्रममा बेपत्ता भएका उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कचनकवल गाउँपालिका-२ मा अमरखुट्टा खोला तर्ने क्रममा प्र१-०२-०५ प ६९७८ नम्बरको मोटरसाइकल खोलाले बगाएको प्रहरीले जनाएको छ । अर्जुनधारा नगरपालिका-७ मा बिरिङ खोलामा रहेको खुदुनाबारी-शनिश्वरे जोड्ने मोटरेवल पुलमा क्षति पुगेको छ । कचनकवल गाउँपालिका-१ मा अदुवा खोलामा रहेको काठको पुल पनि बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दले बताउनु भएको छ ।
संखुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार अविरल वर्षापछिको बाढीका कारण अरुण तेस्रो डारभर्सनको टनेल भरिएपछि त्यसले जोखिम बढाएको छ । डारभर्सनको टनेल भरिएपछि तटीय क्षेत्रमा उच्च सर्तकता अपाउन जिल्ला प्रशासन् कार्यालयले अनुरोध गरेको छ । पहिरोले सभाखोला-लेगुवा सडक अवरुद् भएपछि एम्बुलेन्सलगायतका सवारी साधन सञ्चालन नहुँदा विरामीलगायतलाई सास्ती र हैरानी भएको छ ।
इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार ०८१ असोज ११ गतेको बाढीपहिरोका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । राँकेबाट रवि जाने सडक खण्ड र इलाम जिल्ला देउमाई नगरपालिका १ मैदानेमा रहेको वस्ती पहिरोको जोखिममा परेका छन् । देउमाई नगरपालिका १ मैदानेका पासाङ शेर्पाको ३ तले घरमा लेदो पसेपछि उनीहरु विस्थापित हुनु परेको छ । सोही ठाउँका फुर्वा शेर्पाको २ तले घरमा लेदो पसेपछि उनीहरुको परिवार विस्थापित हुनु परेको छ । सोहीका दमु शेर्पा समेत पहिरोका कारण विस्थापित हुनु परेको छ । बाढी पहिरोका कारण जिल्लाका भित्रि सडक एवम् मेची राजमार्ग अवरुद् भएका कारण एम्बुलेन्सलगायतका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार निरन्तरको वर्षासँगै आएको बाढीका कारण मोरङमा ९४ परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदाका ९४ परिवार विस्थापित भएका हुन् । रंगेली नगरपालिका-२ लक्ष्मीपुरका १६ परिवार विस्थापित भएका छन् । उनीहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । रंगेली नगरपालिका-९ मा डाँस खोलाको बाढी खोलाधार टोलमा पसेपछि २२ परिवार विस्थापित भएका छन् । बाढीबाट विस्थापित भएकाहरुलाई दोहमना बजारमा राखिएको छ । विराटनगर महानगरपालिका-२ र कटहरी गाउँपालिका १ का स्थानीय पनि विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढीका कारण विराटनगर-२ का ३ परिवार आफन्तको घरमा सरेका छन् । कटहरी-१ बख्खु टोलका चार परिवार विस्थापित भएका छन् । उनीहरुलाई नारी विकास संघको भवनमा राखिएको छ । सिंघियाकै बाढीका कारण जहदा गाउँपालिक-१ धुनी टोल सरबरीया बस्तीमा २५ घर डुबानमा परेका छन् । उनीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको छ । धनपालथान गाउँपालिका-३ बेतौना टोलका २४ परिवार विस्थापित भएका छन् । मंगलबारे नहरमा पानीको बहाव बढेर बाढी गाउँमा छिरेपछि उनीहरु विस्थापित भएको प्रहरीले जनाएको छ ।
