देवाहिगोनाही नगरपालिका-९ स्थित जयकिसान माध्यमिक विद्यालय धरहरिका प्रधानाध्यापक सञ्जय साहलाई सरुवा गरेको निहुँमा विद्यार्थीहरूले ०८१ असोज ८ गते प्रदर्शन गर्नुका साथै नगरपालिकाको भवनमा ढुङ्गा मुढा गरेका छन् । नगरपालिकाको भवन क्षतिग्रस्त भएको छ ।
प्रधानाध्यापक साहको सरुवाको विषयमा विद्यालय व्यवस्थापन समिति, देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह, वडा नं ९ का वडा अध्यक्ष र नगर शिक्षा शाखाका प्रमुख अरबिन्द यादबलगायतका प्रतिनिधि र पधाधिकारिहरू नगरपालिकाको सभा हलमा शिक्षा समितिको बैठक बसिरहेको अवस्थामा १४/१५ जनाको समूहमा आएका विद्यार्थीहरूले प्रधानध्यापक सञ्जय साहलाई सरुवा गर्न पाइँदैन भन्दै नारा जुलुस तथा प्रदर्शन गर्दै ढुङ्गा मुढा गरेको नगर प्रमुख साहले बताउनु भयो ।
नगर शिक्षा समितिको असोज ८ गतेको बैठकबाट नगर प्रमुख साहले मनोमानि ढङ्गले प्रधानाध्यापक सञ्जय साहलाई सरस्वती माध्यमिक विद्यालय देवाही सरुवा गर्न खोजेकोले सरुवा रोक्नुपर्ने माग गर्दै विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा सोही दिन ताला लगाएको र नाराबाजि गर्दै विरोध प्रदर्शन गरेको स्थानीय नागेन्द्र यादबले बताउनु भयो ।
विद्यार्थीहरूको प्रदर्शन र उनीहरूले प्रहार गरेको ढुङ्गा मुढालाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको र प्रदर्शनका क्रममा नगरपालिकाको भवनको झ्यालका सिसाहरू फुटेको भए तापनि मानवीय क्षति चाँही नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एलिजा गिरीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।
त्यसैगरी, विद्यार्थीहरूले गरेको विरोध प्रदर्शन तथा ढुङ्गा मुढाका कारण १५ लाख रुपियाँ बराबरको क्षति भएको नगर शिक्षा शाखाका प्रमुख अरबिन्द यादबले बताउनु भयो ।
प्रधानाध्यापकको सरुवा राक्नु पर्ने भन्दै असोज ६ गते वडा ९ का वडा अध्यक्ष बिरबहादुर साह, विद्यालया व्यवस्थापन समितिका अध्यक्ष छबिलाल भनिने श्यामानन्द साह, स्थानीय राजेश साह, गुड्डु यादबलगायतले जिल्ला शिक्षा समन्वय ईकाई गौरमा जानकारी गराएको शिक्षक मनिशङ्कर निधीले बताउनु भयो ।
त्यस्तै, स्थानीय जनप्रतिनिधि र विद्यालया व्यवस्थापन समितिले प्राधानाध्यापक सञ्जय साहको सरुवा राक्नु पर्ने जानकारी गराएको बताउनुहुँदै सरुवाको विषयले सिर्जना गरेको समस्या छिटोभन्दा छिटो समाधान गर्ने जिल्ला शिक्षा इकाईका प्रमुख धिरेन्द्र जङ्ग थापाले जानकारी दिनुभयो ।