बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति अभावले सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको हो ।

गुलरिया नगरपालिका–८, टपरागाउँका ८२ वर्षीय नरबहादुर गुरुङको स्वास्थ्य अवस्था कमजोर भएपछि उहाँलाई घरमा अक्सिजन चढाएर बस्नुपर्ने बाध्यता रहेको छ । आर्थिक अवस्था कमजोर भएका गुरुङलाई थप उपचारका लागि अस्पताल लैजान नसकेको गुरुङका छोराले नारायण गुरुङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन भएको भए बुबालाई अस्पतालमा भर्ना गरेर राख्न सकिन्थ्यो । तर अन्यत्र आइसीयु बेड छैन भन्ने जवाफ आउँछ । त्यसकारण बुबालाई घरमा अक्सिजन दिएर राखेका छौँ । एक दुई दिन बिराएर नेपालगञ्जबाट अक्सिजन ल्याउने गरेको छ । बर्दिया अस्पतालमा नै एचडीयु र आइसीयु सेवा सञ्चालन हुन सकेको भए सहज हुने थियो ।’
गुलरिया नगरपलिका–४ का बासुदेब लम्सालले अस्पतालमा एचडीयु र आइसीयु संरचना बनेर तयार भए पनि सेवा सञ्चालन नहुँदा गम्भीर खालका बिरामीहरू बाहिर जानुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एचडीयु र आइसीयुुको संरचना तयार हुँदा अब घर आँगनबाट सेवा पाइने भयो भन्ने लागेको थियो । तर एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा नेपालगञ्ज, कोहलपुर वा काठमाडौँ जानुपर्ने बाध्यता छ । बन्द रहेको एचडीयु र आइसीयु सेवा सञ्चालन सेवा गर्न सकेमा बर्दियामा धेरै सहज हुन्छ ।’

बर्दिया अस्पतालमा रहेको एचडीयु र आइसीयु सञ्चालन हुन नसक्दा आइसीयुमा राखेर उपचार गर्ने बिरामीलाई अन्यत्र लैजानु पर्ने बाध्यताको अन्त्य हुन जरुरी रहेको गुलरिया नगरपालिका–१२, टडुवाका स्थानीय डम्मर परियारले बताउनु भयो । उहाँले भन्नुभयो, ‘करोडौँ रुपियाँ लगानी गरेर संरचना बनेको छ । तर जनशक्ति नहुँदा एचडीयु र आइसीयुु सेवा सञ्चालन हुन सकेको छैन । स्वास्थ्य उपचारको क्षेत्रमा यस्तो लापर्वाही नगरी तत्काल जनशक्ति व्यवस्थापन गरी एचडीयु र आइसीयु सञ्चालन गरिनुपर्छ ।’
कोभिड–१९ को सङ्क्रकण बढेपछि स्थानीय निकाय सहयोग र अस्पतालको आफ्नो लगानीमा २५ शैयाको एचडीयु र आइसीयु सेवा सञ्चालनको लागि संरचना तयार थियो । जनशक्ति अभाव हुँदा तीन वर्षभन्दा बढी समयदेखि सेवा सञ्चालन हुन सकेको छैन । जसले गर्दा एचडीयु र आइसीयु राखेर उपचार गर्नुपर्ने बिरामी बाहिर जानुपर्ने बाध्यता रहेको छ । अस्पतालमा राजापुर गाउँपालिका, गेरुवा गाउँपालिका, मधुवन नगरपालिका, गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिका अधिकांश बिरामीहरू उपचार लागि आउने गरेका छन् । तर गम्भीर समस्यामा परेका बिरामीहरूका लागि आवश्यक पर्ने एचडीयु र आइसीयु नहुँदा बिरामीलाई जोखिम मोलेर बाहिर लैजानु पर्ने बाध्यता रहेको छ ।
बर्दिया अस्पतालको चार वर्षको तथ्याङ्क अनुसार पनि बिरामीको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा १ लाख १९ हजार ४ सय ९६ जनाले गत आर्थिक वर्ष २०७९/८० मा १ लाख १५ हजार ७ सय १८ जनाले उपचार सेवा लिएको अस्पतालले जनाएको छ । त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा १ लाख ७ हजार ४ सय ७८ जनाले उपचार सेवा लिएका छन् भने आर्थिक वर्ष २०७७/७८ मा ४५ हजार ९ सय ९६ जनाले उपचार सेवा लिएको बर्दिया अस्पतालका मेडिकल रेकर्डर तथा सूचना अधिकारी केशब न्यौपानेले जानकारी दिनुभयो ।
अस्पाताका प्रमुख वरिष्ठ मेडिकल सुपरिटेन्डेन डा. सुभाष पाण्डेले अस्पतालमा ५९ जनाको दरबन्दी रहेको भए पनि हाल २३ जना मात्र कार्यरत रहेको बताउनु भयो । उहाँले अस्पतालमा थप सेवा प्रदान गर्न १५/२० जना मेडिकल अधिकृत र ४० जना नर्सिङ स्टाफ आवश्यक रहेको बताउनु भयो । नेतृत्वले अस्पताल आफ्नो लागि हो भन्ने बुझ्न नसक्दा पनि समस्या परेको डा. पाण्डेको भनाइ छ ।
अस्पतालमा जनशक्ति अभाव भएकोले पूर्ण रूपमा एचडीयु र आइसीयु कक्ष सञ्चालन गर्न नसकेको डा. पाण्डेले बताउनु भयो । अस्पतालका प्रमुख डा. पाण्डेले समय अनुकुल, जनसङ्ख्याको अनुपात, र सेवाग्राहीको सङ्ख्या हेरेर जनशक्ति व्यवस्थापन हुनुपर्ने माग गर्नुभयो । बर्दिया अस्पतालका सूचना अधिकारी केशब न्यौपानेले एचडीयु र आइसीयु सेवा सञ्चालनको सम्पूर्ण संरचना तयारी भए पनि जनशक्ति अभावले सेवा सुचारु हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एचडीयु र आइसीयु सेवा सञ्चालनमा चौविसै घण्टा सेवा दिनुपर्ने हुन्छ । अस्पतालमा जनशक्तिको अभाव छ । यसलाई सञ्चालन गर्न अस्पतालको स्रोतले पुग्दैन । प्रदेश वा स्थानीय तहले जनशक्ति व्यवस्थापन गर्न सके सेवा शुरु गर्न सकिन्छ ।’
दैनिक सयको सङ्ख्यामा उपचार सेवा दिँदै आएको ओपिडी, इमरजेन्सी, सर्जिकल ओपिडी/इन्डोस्कोपि, फिजियोथेरापी, बालरोग, सर्जरी, हाडजोर्नी, डाइलासिस सेवा लगायतको सेवा दिँदै आएको छ ।


