उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पौडेलको ०८१ भदौ ३१ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कसुरदारबाट १५ हजार रुपियाँ जरिबाना र ३० हजार रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।
११ वर्षीया बालिका आयुसा राईलाई ०८१ जेठ १२ गते पैसा चोरेको आरोपमा २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईले आयुसालाई कुटपिट गरेका थिए ।
आरोपित राईविरुद्ध पीडित पक्षले जेठ १३ गते इलाका प्रहरी कार्यालय, उर्लावारीमा उजुरी दिएको थियो ।
आरोपितविरुद्ध प्रहरीले ०८१ असार ६ गते जिल्ला अदालतमा कुटपिट शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालत मोरङका न्यायाधीश जुद्दबहादुर आलेमगरको इजलासले धरौटी माग गर्ने आदेश दिएपछि धरौटी बुझाएर तारेखमा रिहा भएका थिए ।
कुटपिटबाट बालिकाको शरीरका विभिन्न भाग र अनुहारमा चोट लागेको थियो । पीडित बालिकाको मङ्गलवारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टरमा उपचार गरिएको थियो ।