INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पपछि विद्यालयको भवन पुननिर्माण नहुँदा पठनपाठनमा समस्या

आठबीसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यामिक विद्यालयको भवन भूकम्पले भत्किएर अझै पुननिर्माण नहुँदा पठनपाठनमा समस्या भएको छ । गत कात्तिक १७ गते गएको विनाशकारी भूकम्पले विद्यालय भवन पूर्ण रूपमा भत्किएपछि अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन भइरहेको हो ।

जनविकास माध्यामिक विद्यालय, टाकुराका करिव ३ सयभन्दा बढी बालबालिका विद्यालयको भवनमा पढ्न नपाउँदा प्रभावित भएका छन् । भूकम्प अघि तीन ओटा भवनमा बसेर पढेका बालबालिकाहरू अस्थायी सिकाइ केन्द्रको पठनपाठन प्रभावकारी हुन सकेको छैन ।

आठबीसकोट नगरपालिका–१४ का स्थानीय शम्भुप्रसाद शर्माले भूकम्पका कारण विद्यालय भवन क्षति भएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको बताउनु भयो । दातृ निकायको सहयोगले तीन ओटा अस्थायी सिकाइ केन्द्र निर्माण गरेका थिए । भूकम्प गएको करिव १० महिना बित्न लाग्दा पनि भवन निर्माणमा सरकारबाट पहल नहुँदा घाम, पानीको समयमा समस्या हुने गरेको उहाँले बताउनु भयो ।

जनविकास माध्यामिक विद्यालयका प्रधानाध्यापक दिपक संगम थापाका अनुसार विद्यालय भवन पुननिर्माण हुन नसक्दा विद्यार्थीहरूलाई पढ्न समस्या भएको छ । विनाशकारी भूकम्पपछि जोखिमयुक्त बस्तीमा परेकाले यी स्थानहरूमा विद्यालय निर्माण हुन नसकेको उहाँको भनाइ छ । विद्यालयको भवन निर्माणको लागि विभिन्न निकायमा धाए पनि रकम विनियोजन नगरेको जनविकास माध्यामिक विद्यालयका प्रधानाध्यापक थापाले बताउनु भयो ।

जनविकास माध्यामिक विद्यालयका कक्षा ६ मा अध्ययनरत भरत शर्माले दिउँसो गर्मी भएपछि बस्न नसकिने र पानी परेको बेला टिनको आवाजले शिक्षकले पढाएको केही नसुनिने बताउनु भयो । नियमित पढाइ भए पनि पानी र घामले उकुस मुकुस बनाउने गरेको उहाँले बताउनु भयो । कक्षा ८ मा अध्ययनरत रितु शर्माले भूकम्पपछि पढाइमा समस्या आएको उल्लेख गर्नुभयो । घाम लागेका बेला टिनको छानाले पोलेपछि सितलमा गएर पढ्ने र पानी परेपछि टिनको छानामुनी आएर बस्ने गरेको उहाँको भनाइ छ ।

विद्यालयको भवन भूकम्पले भत्किएर बालबालिकाको पठनपाठनमा समस्या भएको विषयमा स्थानीय सरकारलाई जिम्मेवारी आउने कामहरू गर्न आफूले पहल गर्ने आठबीसकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख इन्द्रबहादुर विष्टले बताउनु भयो ।

जनविकास माध्यामिक विद्यालयमा तल्लो कक्षाका बालबालिकाले सिक्ने उमेरमा बसाई व्यवस्थापन नहुँदा शिक्षण सिकाइ प्रभावकारी हुन सकेको छैन । स्थानीय तहले विशेष पहल गरी भूकम्पले भत्किएका भवनको पुननिर्माणमा आवश्यक सहयोग नगरेका कारण बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित भएका छन् । शिक्षालाई प्रभावकारी व्यवहारिक र गुणस्तरीय बनाउने सरकारले आवाज उठाए पनि बालबालिका बस्ने भवन नहुँदा अभिभावक तथा विद्यार्थीहरू चिन्तित भएका छन् ।

अन्य

भिडियो