अविरल वर्षाले बाटो भत्किँदा सिमकोट गाउँपालिका–८, साता गाउँस्थित बलभद्र आधारभूत विद्यालयमा तीन दिनदेखि विद्यालय बन्द हुँदा बालबालिकाहरूको पठनपाठन प्रभावित भएको छ । जिल्लामा ०८१ भदौ २६ गतेदेखि नियमित रूपमा परेकाे अविरल वर्षाका कारण विद्यालय जाने सातागाउँ नजिकको बाटो पहिरोले भत्किएपछि विद्यार्थीहरू विद्यालयमा उपस्थित हुन नसक्दा पठनपाठन प्रभावित भएकाे हाे ।
उक्त बाटो भत्किँदा सिमकोट गाउँपालिका–८, याङ्गु गाउँका विद्यार्थीहरू चार दिनदेखि विद्यालय जान नपाएकाे बलभद्र आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमकला बुढाले बताउनु भयो । भारी वर्षा हुँदा चार दिनदेखि यहाँका विद्यार्थी पठनपाठनबाट वञ्चित भएकाे प्रधानाध्यापक बुढाकाे भनाइ छ ।
याङ्गुबाट विद्यालय जानेबीच क्षेत्रको बाटो भत्किएको छ । उक्त गाउँबाट २५ जनाभन्दा बढी बालबालिकाहरू साे विद्यालयमा अध्यायन गर्दै आएका छन् । विद्यालयमा विद्यार्थीहरू उपस्थित नभएपछि उनीहरूको पठनपाठन प्रभावित हुनुका साथै विद्यालय बन्द भएको हो । आवतजावत गर्न नमिल्ने भएपछि विद्यार्थीहरू विद्यालयमा उपस्थित हुन नसक्दा बन्द गरिएको हो ।
विद्यालयको माथि पट्टिको भाग पनि जोखिमयुक्त हुँदा विद्यालय नै बन्द गर्नुपरेको प्रधानाध्यपक बुढाले बताउनु भयो । पानी परेको समय विद्यालय भत्किने डर हुने हुँदा पनि विद्यालय बन्द गर्नु पर्ने बाध्यता रहेको छ । पढ्न आउने विद्यार्थीहरू बाटो अवरुद्ध हुँदा समस्यामा परेको स्थानीय मानबहादुर शाहीले बताउनु भयो । बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने यहाँका स्थानीयलाई समेत समस्या भएको स्थानीय शाहीको भनाइ छ ।