बुटवल उपमहानगरपालिकाको न्यू शान्तिनगर बस्ती अव्यवस्थित हुँदा बाढी र डुवानको जोखिम बढेको छ । उक्त बस्तीमा पहिले बुटवल उपमहानगरपालिकाले फोहर फाल्ने ठाउँ बनाएको थियो । पछि फोहर फाल्ने ठाउँमा घना बस्ती बसेपछि यहाँ बसोबास गर्ने बासिन्दाहरूले यस क्षेत्रको नाम न्यू शान्तिनगर राखेका थिए ।

यस क्षेत्रमा साधना महिला स्कुल सहितको ठूलो बस्ती छ । न्यू शान्तिनगरमा २०६३ साल भदौमा तिनाउमा आएको बाढी पसेको थियो । बाढीले केही घर टहरा बगायो । तर बाढीले बगाएको केही वर्ष नबित्दै फेरि यहाँ घना बस्ती भएको छ । तिनाउको किनारको अव्यवस्थित बस्ती र फोहोरका कारण स्वच्छ वातावरण र सफा पिउने पानीको समेत समस्या रहेको छ ।

तिनाउ नदीको किनारमा रहेको अर्को विनापाते बस्तीमा पनि उस्तै समस्या छ । अहिले ठूला–ठूला आधुनिक खालका घर बनेका छन् । स्थानीयले नाम राखेको यही विनापातेमा २०६६ भदौ २ गते आएको बाढीले ठूलो क्षति गरेको थियो । एक दर्जन घर बगाएको स्थानीयको भनाइ छ । बाढीको भङ्गालो बस्ती बिचमा पर्दा अलपत्र परेका नागरिकलाई क्रेन लगाएर उद्दार गरिएको स्थानीय डोल बहादुर कामीको अनुभव छ । अव्यवस्थित बस्ती, खोलालाई दोहन गरेर बसेको बस्तीमा धेरै जनाले ज्यान गुमाएका घटनाहरू पनि छन् । एकातिर अव्यवस्थित बस्ती र बस्ती नजिकै फोहोर फाल्ने डम्पिङ क्षेत्र भएकाले पनि यो क्षेत्रमा विभिन्न खालको रोगको सङ्क्रमणहरू झाडापखाला, आउँ, जण्डिस जस्ता समस्याहरू हुने गरेका छन् भने नागरिकहरू स्वस्च्छ वातावरणको अधिकारबाट वञ्चित हुनुपरेको छ ।

तिनाउ नदीमा २०३८ सालमा ठूलो बाढी आएको थियो । बाढीले उक्त बस्तीमा ठूलो क्षति गरेको थियो । बाढीबाट विस्थापित भएकालाई नवलपरासीको बर्दघाटमा लगेर पुर्नस्थापना गरिएको थियो । बुटवल उपमहानगरपालिका–११, बुद्धनगरको बस्तीको ठूलो हिस्सा त्यही बाढीमा परेको थियो । त्यतिबेला बाढीमा परेकालाई पुर्नस्थापना गरेपछि लगतकट्टा नगर्दा अहिले कतिपय यही फर्केर आएका छन् । २०५९ सालमा बुद्धनगरको बस्ती बसेपछि यहाँ तिनाउ अतिक्रमणको श्रृखङ्ला शुरु भएको थियो । अतिक्रमणले अहिले नदीलाई नहर झैँ साघुँरो बनाइएको छ । जसका कारण वर्षातको समयमा बाढी र डुवानको जोखिम रहेको छ ।

बुटवल उपमहानगरपालिका भूमी शाखाका अधिकृत रामप्रसाद पन्थीले बुटवल उपमहानगरपालिकाले एक हजार रुपियाँ लिएर निस्सा दिने निर्णय भइ निस्साको फोटो सहितको प्रमाणपत्र छपाई सकेको र राष्ट्रिय भूमि आयोगले काम गर्न शुरु गरेपछि आयोगको जिम्मेवारी अन्तर्गत रहेकोले स्थानीय तह माफर्त निस्सा बाड्न नसकिएको बताउनु भयो । उहाँले राष्ट्रिय भूमि आयोग मार्फत बुटवलका १७ हजार भन्दा बढीको निवेदन दर्ता भइ फारम भरिएको बताउनु भयो ।
विपद् विज्ञ डा. सुस्मिता ढकाल ठूलो जनधनको क्षतिबाट जोगिन नदीमा भइरहेको अतिक्रमण रोकेर योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने बताउनुहुन्छ । त्यसैगरी विगतमा तिनाउमा आएका बाढी र चुरेको पहिरोले आफूहरूलाई योजनाबद्ध रूपमा अघि बढ्न झक्झकाएको तर सबैले वेवास्ता गरिरहेका उहाँले उल्लेख गर्नुभयो ।











